लेखनाथ महोत्सवमा दर्शकको भिड,

Share:

लेखनाथ २७ मंसिर / कास्कीको लेखनाथमा जारी एघारौ लेखनाथ महोत्सवमा एकै दिन ५० हजार दर्शकले अवलोकन गरेका छन् । समापन तर्फ उन्मुख महोत्सवमा शनिवार विदाको दिन परेकाले पनि दर्शकहरुको भिड लागेको हो । विहान ११ बजे देखी लागेको भिड साँझ ६ बजेसम्म रहेको थियो ।

गेट देखी मनोरन्जनका लागि बनाइएको स्टेजसम्म दर्शकको ठेलमठेल रहेको थियो । शनिवबार मात्रै ३ करोड रुपैयाको कारोबार भएको संघका कोषाध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए । महोत्सवको अन्त्यतिर हरेक बर्ष भिड लाग्ने गरेको उल्लेख गर्दै आत्रेले यस पटक पनि महोत्सव ऐतिहासिक भएको बताए । महोत्सवमा राखिएका स्टलमा राम्रो व्यापार भएको छ । अत्याधिक चापका कारण शनिवार रेष्टुरेण्टमा बेलैमा खाजाका परिकारहरु सकिएका थिए । महोत्सवमा व्यापार भएन भन्ने गुनासो कुनै पनि स्टलवालाको आएन कोषाध्यक्ष आत्रेयले भने, दर्शकको चाप बढ्नु पनि आगामी बर्षको निरन्तरताको माग हो ।

महोत्सवमा कास्की, स्याङजा, तनहुँ, लम्जुङ, म्याग्दी देखी गोरखासम्मका दर्शकहरु अवलोकनका लागि आएका थिए । म्याग्दी उद्योग बाणिज्य संघबाट महोत्सवको अवलोकनका लागि आएका सरोज बानियाले लेखनाथका महोत्सव उत्कृट रहेको बताउँदै, लेखनाथको व्यवस्थापनबाट सिक्नु पर्ने उल्लेख गरे ।

महोत्सवमा लोकदोहोरीका चर्चित गायक खुमन अधिकारी र ज्योति लोहोनीको रस्साकस्सीले दर्शकलाई जुरुक जुरुक बनाएको थियो । यस्तै युवा गायक दिपक लिम्बुले आधा दर्जन गितमा दर्शकलाई छमछमती नचाएका थिए । जिरे खुर्सानीका हाँस्य कलाकार दारी बा (शुरवीर पण्डित) र निर्मलीले दर्शकलाई पेट मिचीमिची हसाएका थिए । सधै टेलिभिजनका पर्दामा देखिने कलाकारसँग उनिहरुका शुभचिन्तकले फोटो खिचाउँन समेत भ्याएका थिए ।

महोत्सवको प्रमुख आकर्षण लोक गायन प्रतियोगिता गण्डकी ताराका ८ जना प्रतिस्पर्धामा उत्रिएकामा २ जना बाहिरिएका छन् । राजेश गुरुङ्ग र दिपक सुनार शनिवार प्रतियोगिताबाट बाहिरिएका हुन । बाँकी ६ जनामध्ये दर्शकको प्रवेश टिकटबाट २० प्रतिशत र निर्णायकको ८० प्रतिशत निर्णयबाट दुई जना बाहिरिने छन् ।

चाइल्ड ट्यालेन्ट सो प्रतियोगिताको फाइनल आइतबार हुने भएको छ । फाइनलमा नृत्य तर्फ डायमण्ड उच्च मा.वि का प्रतिक्षा राना, हिमालयन वोर्डिङ स्कुलकी कृषा बुढाथोकी, हावर्ड एकेडेमीका चन्द्र पुन, डायमण्ड उच्च मा.वि का अनुपमा लामिछाने र गायन तर्फ डायमण्ड उच्च मा.वि अनिषा ढुंगाना, फिस्टेल एकेडेमीकी प्रकृती राई र फिस्टेल एकेडेमीकै प्रशान्ती राई र ग्लोबल कलेजियटकी पल्लवी किरण भट्टराई र अभिनय तर्फ युर्निभस वोर्डिङ स्कुलका आदर्श पौडेल, दिपेश बस्नेत, हाइवये गार्डेनका शिव बि.क र न्यू लेखनाथ पब्लिकका रञ्जन कंडेलका विच प्रतिस्पर्धा रहने चाइल्ड ट्यालेन्ट सो प्रतियोगिता उपसमितिका संयोजक ऋषिराम जमरकट्टेलले जानकारी दिए । आइतबार पनि आयोजकले दर्शक तान्न चर्चित गायक प्रमोद खरेल लगायतका कलाकारलाई स्टेजमा उतार्ने भएका छन् ।

 

कमेन्ट गर्नुहोस्
Share: