
काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट विश्वभरबाट मृत्यु हुनेको संख्या ७ हजार ९६५ पुगेको छ । विश्वमा संक्रमितको संख्या १ लाख ९८ हजार १ सय ८१ जना पुगेका छन् भने ८१ हजार ७३४ जना उपचार पछि निको भएका छन् ।
कोरोना भाइरसबाट अहिलेसम्म एक सय ६५ देशमा फैलिसकेको छ । भाइरसको केन्द्रबिन्दु चीनमा नियन्त्रण हुँदै गइरहेको सङ्क्रमण चीनबाहिर भने तीव्र रुपमा फैलिरहेको छ । चीनमा पछिल्लो २४ घण्टामा चीनमा कसैमा पनि सङ्क्रमण देखिएको छैन र ज्यान गुमाउनेको सङ्ख्या पनि बढेको छैन । कोरोनाका कारण चीनमा अहिलेसम्म तीन हजार दुई सय २६ जनाको ज्यान गएको छ ।
चीनपछि सबैभन्दा धेरै इटलीमा ज्यान गएको छ । पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय २६ जनामा सङ्क्रमण देखिएकोमा तीन सय ४५ जनाको ज्यान गएको छ । भाइरसका कारण इटलीमा ज्यान गुमाउनेको सङ्ख्या दुई हजार पाँच सय तीन पुगेको छ । भाइरसको सङ्क्रमण देखिएका ३१ हजार पाँच सय ६ जनामध्ये झण्डै तीन हजार जना उपचारपछि निको भएका छन् ।
इरानमा पनि पछिल्लो २४ घण्टामा एक सय ३५ जनाको ज्यान गएको छ । इरानमा भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ९ सय ८८ पुगेको छ ।
