
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाह बमोजिम नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ४ बजे सचिवालय बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी हुने बुझिएको छ । फागुन २१ गते मिगौलाको प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली १२ दिनको अस्पताल बसाइपछि डिस्चार्च भएर विभिन्न कार्यक्रममा सहभागि भइसकेका छन्। त्यसैले आजको सचिवालय बैठकमा पनि ओली सहभागि हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
पछिल्लो सयम विश्वभर कोरोना भाइरसको त्रास बढिरहेकोले आजको बैठकमा यही विषयमा मात्रै छलफल हुने बताइएको छ । यसअघि गत फागुन १८ गते नेकपा सचिवालय बैठक बसेको थियो ।
