
पोखरा । कास्की प्रहरीले ५ जना बेवारिसे बृद्धबृद्धाहरुलाई सडकपेटीबाट उद्दार गरेको छ । सडकपेटी मै दिनरात गुजारी मागेर आफ्नो जीवन चलाउँदै आएका ३ पुरुष र २ महिलालाई सडकपेटीबाट उद्दार गरी मानवसेवा आश्रम पोखरा पठाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
राम्रो खानपान र उचित सरसफाईको अभावमा कमजोर स्वास्थ अवस्थाका त्यस्ता बृद्धबृद्धाहरु कोरना भाइरस तथा कुनैपनि रोगको सिकार हुनसक्ने र त्यसबाट अन्य ब्यक्तिहरु पनि संक्रमित हुनसक्ने भएकोले उनीहरुको उद्दार गरिएको प्रहरीले जनाएको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म नेपालमा ३ जनामा पुष्टि भएको छ । सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् । यस्तै ४ चैतमा फ्रान्सबाट कतारको ट्रान्जिट हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो । भने हिजो फेरी एक पुरुषमा संक्रमण भेटिएको छ । धादिङ घर भएका ती पुरुष चैत ६ गते दुबईबाट आएको जनाइएको छ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म विश्वका १९४ देशमा फैलिसकेको छ।


