जर्मनी र फ्रान्सका नागरिक लैजान आइपुग्यो चार्टर्ड जहाज, मलेसियाका नागरिकलाई पनि आजै लैजाने

Share:

काठमाडौं। नेपालमा रहेका फ्रान्स र जर्मनीका नागरिक लैजान कतार एअरवेजको जहाज काठमाडौं आइपुगेको छ । दुई देशले संयुक्त रुपमा चार्टर गरेका जहाजमा आज (शनिबार) झन्डै ३ सय नागरिक जर्मनी र फ्रान्स जानेछन् ।

यस्तै आज (शनिबार) नै मलेसियाले नेपालमा रहेका आफ्ना नागरिकलाई मलेसिया एयरलाइन्सबाट फिर्ता लैजाने बताइएको छ । नेपाल पर्यटन बोर्डले पर्यटकलाई सूचित गर्दै राखेको सूचिमा उक्त उडानसमेत राखिएको छ ।

 विदेशी पर्यटकलाई आगामी एक साताभित्र फर्काउने तयारी

काठमाडौंमा रहेका विदेशी पर्यटकलाई आ–आफ्नो मुलुक फर्काउन आगामी एक साताभित्र अन्तर्राष्ट्रिय चार्टर्ड उडानको तयारी गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

अमेरिकन नागरिक लैजान कतार एयरवेज आइतबार (५ अप्रिल) मा काठमाडौं आउने भएको छ । अप्रिल ७ तारीखमा भने नेपालमा रहेका श्रीलंकन नागरिकलाई नेपाल एयरलाइन्सको जहाजले फिर्ता लैजाने प्रारम्भिक तयारी रहेको बोर्डको तालिकामा उल्लेख छ । ९ अप्रिलमा जर्मनीले कतार एयरवेजबाट अर्को उडान गर्ने जानकारी बोर्डलाई गराएको छ । तर, यो उडान भने अझै निश्चित नभइसकेको बोर्डले उल्लेख गरेको छ ।

अप्रिल १० मा भने दक्षिण कोरियाले आफ्ना नागरिकलाई फिर्ता लैजाने भएको छ । कोरियाले कोरियन एयरलाई काठमाडौं ल्याउने योजना बनाएको छ । बेतायत र अन्य मुलुकको भने उडान निश्चित भइसकेको छैन ।

यूरोपेली देश र अमेरिकाले यसअघि पनि जहाज चार्टर गरेर झन्डै ९ सय नागरिक फर्काइसकेका छन् । यस्तै अष्ट्रेलिया र न्युजिल्यान्डका नागरिक लिएर नेपाल एअरलाइन्स अस्ट्रेलिया गएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: