
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)का कारण लण्डन (बेलायत) मा अर्का एक भूतपूर्व गोरखा सैनिकको निधन भएको छ । पर्वत पैँयु घर भई हाल लण्डनको अल्पर्टनमा बस्दै आएका चेतप्रसाद गुरुङको मंगलबार साँझ लण्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा निधन भएको हो । ५९ वर्षीय गुरुङ तमुधिँ लण्डन इकाइका वरिष्ठ उपाध्यक्ष थिए ।
उनी करिब दुई साताअघि कामबाट घर फर्कंदा ज्वरो आएको महसुस भएपछि उनी घरमै आइसोलेसनमा बस्दै आएका थिए । करिब ५/६ दिनअघि श्वास फेर्न गाह्रो भएपछि एम्बुलेन्स बोलाई उनलाई अस्पताल लगिएको तमु धीं लन्डन इकाईका पूर्व अध्यक्ष दिपक गुरुङले जानकारी दिए।
उनी पूर्व गोरखा सैनिक थिए । गोरखा ट्रान्सपोर्ट रेजिमेण्ट (जीटीआर) मा उनले सेवा गरेका थिए ।
यसअघि बेलायतमा एकजना भूपू गोर्खा सैनिक संखुवासभाका लीलाबहादुर राई र चितवनका व्यवसायी प्रशान्त अर्यालको कोरोना संक्रमणका कारण निधन भएको थियो।
