राष्ट्रपतिको चिन्ता, ‘माघ ८ मा संविधान नआए जनता र अन्तर्राष्ट्रिय समुदायले के भन्लान् ?’

Share:

काठमाडौं, पुस २ – राष्ट्रपति रामवरण यादवले आ-आफ्नो अडान त्यागेर संविधानका विवादित बिषयमा तत्काल सहमति जुटाउन एमाले र एमाओवादीका पार्टी नेतृत्वसँग आग्रह गरेका छन् । राष्ट्रपति निवास शितल निवासमा एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको छुट्टाछुट्टै भेटमा राष्ट्रपति यादवले प्रमुख दलले ‘त्याग’ गरेर भए पनि माघ ८ मा संविधान ल्याउन आग्रह गरेका हुन् ।

image

‘बिना शर्त माघ ८ मा संविधान जारी गर्ने भनेर जनताबीच प्रतिबद्धता जनाएको बिषयलाई विर्सन भएन । फेरि विर्सन थाल्यौ भने अन्तर्राष्ट्रिय समुदाय र जनताले राजनीतिक दल र नेतृत्वप्रति के सोच्लान् ?,’ यादवले दाहाल र ओलीलाई गरेको आग्रह उद्धृत गर्दे राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले कान्तिपुरसँग भने, ‘माघ ८ मा संविधान ल्याउन सकिएन भने राजनीतिक दल र नेतृत्वप्रतिको विश्वसनीयता समाप्त हुन्छ ।’

दाहालले कुनै पनि दल एक्लै अघि बढ्न सक्षम नभएको भन्दै संविधान निर्माणको बाटो खोल्न आग्रह गरे । उनले प्रकृयाबाट संविधान जारी गर्न व्यवहारिक रुपमा सम्भव नहुने भन्दै सहमतिबाटै संविधान ल्याउनसमेत आग्रह गरेका थिए ।

‘संविधान निर्माणको प्रकृया अन्य बिषय जस्तो ख्याल-ख्याल ठान्नु भएन । गम्भीर रुपमा लिनुहोस्, कसैले पनि मेरो गोरुको बाह्रै टक्का गरेर हुँदैन । त्याग गर्नुपर्छ,’ राष्ट्रपतिको भनाई थप्दै सल्लाहकार दाहालले भने,’माघ ८ मा सम्म संविधानको मस्यौदा पनि दिन सकेनौ भने लज्जाको बिषय हुनेछ ।’

छलफलमा एमाओवादी अध्यक्ष दाहालले कांग्रेस र एमालेको नेतृत्वलाई लचिलो बनाउन पहल गरिदिन आग्रह गरेका थिए । विवादित बिषय शासकीय स्वरूप र संघियतामा कांग्रेस र एमालेको अडानले सहमति हुन नसकेको भनाइ दाहालको थियो ।

कांग्रेस र एमाले केही लचिलो हुनासाथ आफू र आफ्नो पार्टीसमेत लचिलो हुन तयार रहेको दाहालले बताका थिए । स्रोतका अनुसार दाहालले एमाले अध्यक्ष ओलीले झापा, मोरङ र सुनसरीलाई मधेससँग जोड्न नमानेकै कारण समस्या उत्पन्न भएको जानकारी गराएका थिए ।

एमाले ओलीले भने एमाओवादीले जातिय विखण्डन ल्याउने गरी प्रदेश निर्माण गर्ने बाटोमा लागेकाले सहमति हुन नसकेको भनाइ राखेका थिए । एमाओवादीले जातीय आधारमा प्रदेश निर्माणको बिषय छाड्नासाथ सहमति हुने उनको दावी थियो ।

राष्ट्रपति यादवले यसअघि कांग्रेस, मधेस केन्द्रित दल र अन्य साना दलका नेताहरुलाई बोलाएर माघ ८ मै संविधान जारी गर्ने दिशामा लाग्न आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: