
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (सोमबार) बिहान ८ बजे राष्ट्रिय गान गाउन र ताली बजाउन आमजनतालाई आह्वान गरेका छन् ।
संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रमलाई समर्थन गर्दै प्रधानमन्त्री ओलीले भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका हुन् ।
ग्लोबल कम्प्याक्ट नेपालले अहिले देशमा कोरोना भाइरस (कोभिड–१९) को संकट रहेकाले अग्रपंक्तिमा रही अहोरात्र खटिने चिकित्सक, नर्स तथा अत्यावश्यक काममा खटिएकाहरुको सम्मानमा यस्तो गर्न अपिल गरिसकेको छ। यो संस्थाले संकटको घडीमा परिचालितहरुको स्वागतमा राष्ट्रिय गान बजाएपछि सामूहिकरुपमा ताली बजाउन पनि आग्रह गरेको छ।
प्रधानमन्त्री ओलीले ट्विटरमा लेखेका छन्, ‘राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ । ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’

