
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । करिब २ सय जना संक्रमित रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बेलायतमा सबैभन्दा बढी आठ नेपालीको मृत्यु भएको छ । तीमध्ये सात जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ भने एक जनाको पुष्टि हुन बाँकी छ । त्यहाँ ३५ जना संक्रमित छन् ।
अमेरिकामा एक नेपाली मूलका नागरिकसहित छ नेपालीको मृत्यु भएको छ । तीन जनाको मृत्यु कोरोना भाइरसका कारण पुष्टि भइसकेको छ भने बाँकी तीन जनाको पुष्टि हुन बाँकी छ । त्यहाँ ६० जना नेपाली संक्रमित छन् । सबैभन्दा बढी न्युयोर्कमा ४५ जना नेपाली संक्रमित छन् । बहराइनमा पनि २२ जना नेपाली संक्रमित रहेका छन्।
यस्तै पोर्चुगलमा र कुबेतमा १२–१२ जना, यूएईमा ११ जना, अस्ट्रेलियामा र स्पेनका ८–८ जना, स्वीटजरल्यान्डमा ५, साउदी अरबमा ४, जापानमा २, इजरायल, हङकङ, न्युजिल्यान्ड र मलेसियामा एक एक जना नेपाली संक्रमित छन् ।
यता छिमेकी देश भारतमा आठ जना भेटिएका छन् । एकै परिवारका उनीहरु अछामका हुन् । यससँगै भारतमा धेरै नेपाली कामदारलाई कोरोना संक्रमण भएको अनुमान गरिएको छ ।
