
लेखनाथ । कोरोनाको जोखिम न्यूनिकरण गर्न नेपाल सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई लेखनाथ उद्योग बाणिज्य संघले खाना पकाएर खुवाउने व्यवस्था मिलाएको छ ।
लेखनाथ क्षेत्रमा मजदुरी गरी बस्दै आएका र सडकमा हिडेका बटुवालाई संघले सुन्दरी बजार स्थित एक पार्टी प्यालेसबाट खाना खुवाउने व्यवस्था मिलाएको हो । महानगरका २६ देखी ३३ नम्बरका वडा कार्यालयसँग समन्वय गरेर विपन्नहरुको बिबरण संकलन गरी उनिहरुलाई घरमै खाना पुर्याउने व्यवस्था मिलाईएको संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए । उनले बुधबार मात्रै १ हजार ३ सय ७० जनालाई खाना बितरण बताए । भात र तरकारी मिलाएर तयार पारिएका प्याकेट संघका कार्यसमितिका सदस्यहरुको गाडीमा सम्वन्धीत वडा तथा टोलहरुमा पुर्याउने व्यवस्था मिलाईएको छ । संघका पदाधिकारी, कर्मचारी र पाटी प्यालेसका कर्मचारीले खानाको प्याकेट तयार गरेका थिए ।
वडा कार्यालयहरुले विपन्नको नामाबली तयार पारेर दुई घण्टा अघि बिवरण टिपाएपछि खाना वडा तथा टोलहरुमा पुर्याईने अध्यक्ष ढकालले बताए । बुधबार मादी गाउँपालिकाबाट हिडेर सप्तरी जान लागेका सियाराम पण्डित सहित सातजनाको टोली पृथ्वी राजमार्गमा गाडी कुरेर बसेका थिए । विहानदेखी भोकै हिडेका उनिहरुलाई समेत संघले खाना उपलब्ध गराएको थियो ।
मंगलबारबाट शुरु गरिएको अभियानमा उक्त दिन २ सय ४० जनालाई खाना खुवाईएको थियो । मजदुरहरुलाई खानाका लागि आवश्यक सामाग्री जुटाउन असहज भएकाले संघले पकाएरै खाना खुवाउने व्यवस्था मिलाएको संघका बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले बताए । लकडाउनको अवधिभर खाना खुवाउने उल्लेख गर्दै, अध्यक्ष ढकालले त्यसपछिको परिस्थिति हेरेर निर्णय लिईने समेत जानकारी दिए ।
