रञ्जन अधिकारी पोखरा, ५ पुस /नयाँ बन्ने संविधानमा मजदुरका हक अधिकार सुनिश्चित गर्नुपर्नेमा मजदुरहरुले जोड दिएका छन् । उनीहरुले मजदुरका हक अधिकार रक्षाका लागि जुट्नुपर्ने आवश्यकता पनि औंल्याए ।
नेकपा एमाले निकट नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट) गण्डकी धौलागिरीको आयोजनामा शनिबार पोखरामा सम्पन्न मजदुर अगुवा भेलामा बोल्दै जिफण्टका केन्द्रिय अध्यक्ष विष्णु रिमालले मजदुरहरुको हकलाई संविधानमै राख्नुपर्ने बताए । ‘हक अधिकारको दबाब स्वरुप मजदुरहरुले आन्दोलन हडताल गर्न पाउनु अधिकार हो’ –उनले भने– ‘हामी हाम्रा मागलाई अन्तर्राष्ट्रिय अदालतसम्म लैजान सक्छौं ।’ अध्यक्ष रिमालले मजदुहरुको श्रम अनुसार ज्यालाको ग्यारेण्टी, स्वास्थ्य सुरक्षाका लागिे तत्काल सोच्नुपर्ने भन्दै राज्यको ध्यानाकर्षण समेत गराए ।
नेकपा एमालेका स्थायी समिति सदस्य समेत रहेका रिमालले माघ ८ गतेभित्र संविधान जारी हुने सम्भावना नरहेको बताए । ‘अन्य विषयमा भन्दा पनि पाँच जिल्लाहरुलाई पहाडमा जोड्ने कि तराईमा जोड्ने भन्नेमा विवाद छ’ – रिमालले भने– ‘यो विषयमा दलहरु विभाजित छन् ।’
नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट) गण्डकी धौलागिरीका अध्यक्ष मीना गुरुङको अध्यक्षतामा भएको भेलामा नेकपा एमालेका सभासद् तथा मजदुर नेता चुडामणि जङ्गली, जिफण्टका केन्द्रिय उपाध्यक्ष हरिदत्त जोशी, (जिफण्ट) गण्डकी धौलागिरीका उपाध्यक्ष रुद्र खत्री, सचिव लिलाबहादुर कार्की लगायतले सहभागीहरुलाई मजदुरहका हक अधिकारबारेमा सहजीकरण गरेका थिए ।
