
काठमाडौँ । आज एक सय ३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । हरेक वर्षको मे १ तारिखमा मनाइने यस दिवस यो वर्ष भने कोरोना (कोभिड–१९) को कारण प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै सरकारले लकडाउन गरेसँगै यस वर्ष श्रमिक दिवसका अवसरमा कुनै पनि औपचारिक कार्यक्रम हुने छैन ।
लकडाउनका कारण श्रमिक वर्ग सबैभन्दा ठूलो मर्कामा परेका छन् । विकास निर्माणका काम देखि उद्योग, व्यवसाय र कलकारखानाहरू सबै प्रायः बन्द भएका कारण धेरै मजदुरहरु कामविहिन बनेका छन् ।
विश्वका मजदुरले दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले अन्तक्र्रिया, चेतनामूलक ¥याली जस्ता विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । तर यो वर्ष कोरोना महामारीका कारण कुनै पनि औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन ।
सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो ।
सन् १८८९ मा फ्रान्सको प्यारिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो । नेपालमा भने विराटनगरमा २००७ सालको मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।
