काठमाडौं, ७ पुस
मंगलबारदेखि सार्वजनिक गाडीको भाडा घट्ने भएको छ । सरकारले इन्धनको भाउ घटेपछि गाडीको भाडादर पनि घटाउन लागिएको हो । तर भाडा घटेपनि व्यवहारिक नहुँदा यात्रुलाई भने खासै राहत नमिल्ने देखिएको छ ।
सार्वजनिक गाडीको भाडा १ प्रतिशत मात्र घटाइएकाले यात्रु अहिलेकै भाडा तिर्न बाध्य हुनेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार ईन्धनको मूल्यका आधारमा ३५ प्रतिशत र गाडीको पाटपूर्जा, उपभोग्य वस्तुको मूल्य वृद्धि तथा चालक र सहचालकको तलव लगायतलाई ६५ प्रतिशत राखेर सार्वजनिक गाडीको भाडादर कायम गर्ने सिद्धान्त अनुसार भाडा घटाईएको हो । घटाईएको भाडाले यात्रुलाई राहत नमिल्ने देखिएकाले यसबारे थप छलफल गर्ने र आवश्यक परे फेरि घटाउने मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले बताए ।
ढुवानीका गाडीमा भने पौने ३ प्रतिशत भाडा घटेकाले त्यसबाट भने उपभोक्तालाई केही राहत मिल्ने सचिव सिटौलाको भनाई छ । यसैबीच सरकारले सार्वजनिक गाडीमा यात्रु ठगिएको भन्ने गुनासा धेरै आएकाले अब अनिवार्य टिकटको व्यवस्था गर्ने भएको छ । अहिले लामो दूरीमा मात्र टिकटको व्यवस्था गरिएकोमा अब छोटो दूरीमा पनि यो नियम लागू गर्न लागिएको हो । टिकट अनिवार्य गर्न अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गृहकार्य थालेको जनाएको छ ।
