
पोखरा । स्याङ्जामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले स्याङ्जामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
भारतबाट आएर क्वारेन्टाइन बसेका स्याङ्जाका दुई जनामा कोरोना पोजेटिभ देखिएको हो । वालिङ नगरपालिका -७ का २० र २९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले वालिङमा रहेको क्वारेन्टाइनमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । गिरीका अनुसार भारतबाट आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । नगरपालिकाको क्वारेन्टाइनमा ६५ जना छन् ।
क्वारेन्टिनमा रहेका १० जनाको स्वाव संकलन गरी पोखरामा पीसीआर परीक्षण गर्दा दुई जना कोरोना पोजिटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले पनि पुष्टि गरेका छन् ।
पीसीआर रिपोर्ट पोजिटिभ आएको खवर पाउने वित्तिकै उनीहरुलाई हाल पुतलीबजारको आइसोलेसन वार्डमा सारिएको छ । मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्यअवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् । आज मात्रै यी दुईसहित नेपालमा थप ९० जना कोरोना संक्रमित थपिएका छन् ।
२ सहित ७ जनालाई सुनौलीबाट वालिङ नगरपालिकाले नै ल्याएको
यसैबीच, संक्रमण पुष्टि भएका २ जनालाई सुनौलीबाट वालिङ नगरपालिकाले नै ल्याएको खुलेको छ । दिल्लीबाट सुनौली नाका आएका उनीहरुलाई नगरपालिकाले गाडी नै पठाएर वालिङ ल्याएको थियो । तयसबेला आएका ७ जनामध्ये २ जनामा कोरोना पोजिटिभ देखिएको हो । संक्रमितहरुलाई पुतलीबजार स्थित आइसोलेसनमा पठाइएको छ । अन्य पाँच जना भने क्वारेन्टाइनमै छन् । उनीहरुको दोस्रो पटक पीसीआर गरिने तयारी भएको छ ।
गण्डकी प्रदेशमा थप २ जनामा कोरोना
योसँगै गण्डकी प्रदेशमा पनि थप २ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या ७ पुगेको छ । प्रदेशको बागलुङमा भेटिएका २ जना संक्रमित उपचारपछि घर फर्कीसकेका छन् भने नवलपुरका २, लमजुङका १ जना बालकको उपचार भइरहेको छ । बालक धादिङ स्थित मामाघर बस्दै आएका थिए ।
