पोखरामा शहीद कृष्ण सेन इच्छुकको सम्झना

Share:

पोखरा । पत्रकार तथा साहित्यकार शहीद कृष्ण सेन(इच्छुक)लाई आज पोखरामा स्मरण गरिएको छ । प्रेस सङ्गठन नेपाल कास्कीले इच्छुकको १८ औँ स्मृति दिवसमा माल्र्यापण कार्यक्रम आयोजना गरी शहीद इच्छुक प्रति श्रद्धासुमन अर्पण गरेको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले इच्छुकले जहिलेपनि जनपक्षिय पत्रकारितामा आफूलाई समर्पित गरेकाले अहिलेको अवस्थामा समेत जनउत्तरदायी र जनपक्षिय पत्रकारिताको खाँचो औँल्याएका छन् ।

नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेलले शहीद इच्छुकले जनपक्षिय पत्रकारिता मार्फत राजनीतिक तथा सामाजिक परिर्वतनको आन्दोलनमा महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै सञ्चारकर्मीहरुले उहाँको आदर्श र व्यक्तित्वको जहिलेपनि अनुसरण गर्नुपर्ने बताए ।

राजनीतिक परिर्वतन भएर सङ्घीयता कार्यान्वयको अहिलेको अवस्थामा समेत जनपक्षिय पत्रकारिताको खाँचो रहेको उनको भनाई छ ।प्रगतिवादी साहित्वका माध्यमबाट समेत इच्छुकले समाज रुपान्तरणमा योगदान गरेको उल्लेख गर्दै अध्यक्ष पौडेलले विगतमा परिर्वतनका लागि भएका हरेक आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदहरुको योगदानलाई सरकार तथा पार्टीले कदर गर्नुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गण्डकी प्रदेश कार्यालय सदस्य पुण्य प्रसाद पौडेलले सेनका लेख तथा विचारहरु अहिलेपनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै शहीदले देखेका सपनाहरु पूरा गर्न पार्टी एकतावद्ध भएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य दिलिप विक्रम शाही, सङ्गठनका जिल्ला संयोजक माधव बराल, सहसंयोजक सन्देश श्रेष्ठ लगायतले सेनको व्यक्तित्वका बारेमा चर्चा गरेका थिए ।

इच्छुक स्मृति दिवसमा प्रेस सङ्गठनले हरेक वर्ष वितरण गर्दै आएको थमन–महेष स्मृति पत्रकारिता पुरस्कार यस वर्ष कोभिड–१९ का कारणले सिर्जित असहज अवस्थाले वितरण गर्न नसकिएकाले छिट्टै वितरण गरिने संयोजक बरालले जानकारी दिए । सो पुरस्कारका लागि आज प्रतिभा छनोट समिति गठन गरिएको छ ।

सो समितिमा अग्रज पत्रकार कोमलनाथ बराल, पुण्य पौडेल, महासङ्घ गण्डीका अध्यक्ष त्रिभुवन पौडेल तथा सङ्गठनका संयोजक र सहसंयोजक सदस्य रहेका छन् ।

विसं २०५९ जेठ १३ गते तत्कालीन राज्यसत्ताले इच्छुकलाई नियन्त्रणमा लिएर चरम यातना पछि महेन्द्र पुलिस क्लबको हिरासतमा हत्या गरेको थियो ।

स्मृति दिवसमा सञ्चारिका समूहलाई स्वास्थ्य सामग्री सहयोग

मदन भण्डारी फाउण्डेशन कास्कीले इच्छुक स्मृति दिवसको अवसरमा सञ्चारिक समूह गण्डकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
फाउण्डेशनका अध्यक्ष माधव बास्तोलाले सञ्चारिका अध्यक्ष स्मिता अधिकारीलाई मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

कोभिड–१९ को जोखिम हुन नदिन जारी बन्दाबन्दीमा समेत अग्र पङ्क्तिमा खटिने सञ्चारकर्मीहरुलाई सो सहयोग गरिएको अध्यक्ष बास्तोलाले बताए ।

सञ्चारिकाका अध्यक्ष अधिकारीले प्राप्त सहयोग प्रति आभार व्यक्त गर्दै महिला सञ्चारकर्मीलाई यसबाट ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
Share: