
काठमाडौँ । नेपालमा आज (शनिबार) थप १८९ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार देशका विभिन्न स्थानमा प्रयोगशालमा गरिएको परीक्षणमा थप १८९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो। यी मध्ये १८५ पुरुष र ४ जना महिला रहेका छन् ।
ललितपुरका एक, धनुषाका ७ जना, झापाका १ जना, कपिलवस्तुका १०९ जना, महोत्तरीका ४ जना, रौतहटका ६ जना, सर्लाहीका १७ जना, सिराहाका ११, सप्तरीका ९ जना, दाङका ५ जना, बाराका १ जना, पर्साका २ जना, दैलेखका १४ जना र संखुवासभाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ४ सय १ पुगेको छ। जसमध्ये १ हजार २८८ जना पुरुष र ११३ जना महिला छन् ।
प्रादेशिक विवरण तर्फ प्रदेश १ मा १६० जना, प्रदेश २ मा ५४७ जना, बाग्मती प्रदेशमा ४५जना, गण्डकी प्रदेश २०, लुम्बिनी प्रदेशमा ५४७ जना, सूदुरपश्चिम प्रदेशमा २१ जना र कर्णाली प्रदेशमा ६१ जनामा संक्रमण देखिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १३ जना संक्रमित निको भइ घर फर्केका छन् । यससँगै नेपालमा कोरोना संक्रमण भएका २ सय १९ जना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ६ जनाको भने मृत्यु भइसहेको छ।
