नेविसंघले भन्योः प्रदर्शनमा आधिकारिक सहभागिता छैन, बिमलको गुनासोः के जनप्रतिनिधि छोरा नागरिक होइनन् ?

Share:

‘स्वतन्त्र पोखरेली युवा’ समूहले पोखरामा विहीबार सरकारविरुद्ध प्रदर्शन गर्दा १ घण्टासम्म शान्तिपूर्वक नै थियो । त्यसपछि समूह बाहिरका युवाहरुको हुल आयो । सरकार बिरोधी नाराबाजी गरे । आयोजकले प्लेकार्डमा लेखेर मौन प्रदर्शन गरेका थिए । तर, भिडले भने नाराबाजी नै गर्दै सरकारको चर्को बिरोध गरे । पछि, प्रहरीले बल प्रयोग गर्नुपर्ने बाध्यता नै आयो ।

तत्कालै समूहकी एक अभियन्ता स्मृति बरालले एक युट्युब भिडियोमा गरेको कुराकानीमा विपक्षी दलका युवाहरुले यो अभियानबाट फाइदा लिगौं न भन्ने मनसायले जोडिएको बताएकी थिईन् । उनले जेल गएर उहाँहरुलाई राजनीतिक फाइदा मिल्ने भन्दै नेवि संघ कहिलेसम्म अर्काले पकाएको भात खान आउँछन् ? भन्दै प्रश्न समेत गरेकी थिईन् । पछि आयोजक समूहका तर्फबाट राजनीतिक दलका युवाले गरेको अभद्र व्यवहारप्रति निन्दासमेत गरिएको थियो ।

प्रहरीले नेबि संघ, नेपाली काँग्रेसका कार्यकर्ता हुन् भन्ने बारेमा चाहिँ केही भनेको थिएन । प्रहरीले ढुंगा र बोत्तल हान्ने दुई जनालाई पक्रिएको पत्रकारहरुलाई बताएका थिए । सोहि आधारमा समाचार बन्यो । पक्राउ परेका बिमल पहारी काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष (पोखरा ६ अध्यक्ष जगत पहारी) का छोरा भएका कारण पनि काँग्रेसका युवाहरुले घुसपैठ गरेको निश्कर्षका आधारमा समाचार आए । पक्राउ पर्नेमा बिमल बहादुर पहारी र प्रेमबहादुर केसी रहेका थिए । उनीहरु राति छुटेका थिए । शुक्रबार नेबि संघ र स्वयं पहारीले यसबारे खण्डन गरेको छ ।

नेवि संघ कास्कीको आधिकारिक सहभागिता छैनः अध्यक्ष थापा

नेवि संघ कास्की अध्यक्ष विकास थापाले पोखरामा मात्र नभई युवाहरुले स्वतस्फूर्त रुपमा राष्ट्रिय झण्डा लिएर प्रदर्शन गरेको बताउँदै पोखरामा भएको कार्यक्रममा नेवि संघले गरेको घुसपैठको समाचारप्रति निन्दा गरेका छन् । प्रदर्शनमा आधिकारिक सहभागिता नभएको जनाउँदै उनले राजनीतिक दललाई जोड्नु आपत्तिजनक रहेको बताए । युवाहरु सबै दलका गएका र सबै स्वतन्त्र हिसाबले आफ्नो झण्डा नबोकी देशको झण्डा बोकेर सहभागिता जनाएको उनको भनाई छ।

बिमल भन्छन्ः म सधैं राष्ट्रका पक्षमा

एउटा सचेत नागरिकको हैसियतले स्वविवेक, नैसर्गिक अधिकार प्रयोग गर्दै आफू पनि सो प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै आफू पनि सहभागी रहेको बताएका छन् । कार्यक्रमको अन्ततिर राष्ट्रबैंक चोक नजिकै केही युवाहरुको आवाज बुलन्द भइरहेको सुनेपछि आफू पुगेको उनले सुनाएका छन् ।

कसैको राजनीतिक विचारसँग असहमति राख्ने आफ्नो उद्देश्य नभएको बताउँदै पहारीले आफ्नो अभिव्यक्ति नै पहिलो आवाज बन्न पुगेको उल्लेख गरे । उनले भनेका छन् ः के एउटा जनप्रतिनिधिका छोरा देशको सचेत नागरिक हुन सक्दैन ? मनमा लागेका भावना व्यक्त गर्न पाउँदैन ? मेरो विमति यहींनेर हो कि यही कुरालाई कसैले राजनीतिकरण गर्ने कोसिस गरिदियो र अफवाह फैलिदियो त्यो मान्छे उच्छृंखल छ ।

उनले आफूले सुन्दर कार्यक्रमलाई उत्तेजित बनाउनु, विथोलनु आफ्नो उद्देश्य नभएको भन्दै साथमा साथ दिन मात्र गएको भन्दै आयोजकप्रति धन्यवाद दिएका छन् ।

सम्बन्धित समाचारः

पोखरामा युवाहरुको प्रदर्शनः स्वतन्त्र युवाको शान्तिपूर्ण, ‘उच्छृंखल समूह’ छिरेपछि उग्र

वडाध्यक्षका छोरा वडा प्रहरीको हिरासतमा

कमेन्ट गर्नुहोस्
Share: