भोकाएका र विपन्नहरुको सारथी बन्दै पोखराको थ्रि एन्जल्स सामुदायिक रेडियो

Share:

पोखरा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) बाट बच्न गत चैत्र ११ गतेदेखि मुलुकभर गरिएको बन्दाबन्दी जारी छ ।

लकडाउनको असरले अहिले दैनिक ज्यालादारी मजदुरी गर्नेहरु एवं विपन्न वर्गका व्यक्तिहरु समस्यामा परेका छन् । स्थानीय सरकारले वितरण गरेको राहत पनि सकिएपछि चुल्हो बाल्न कठिन भएका हरुका लागि पोखराको नयाँगाउमा रहेको एक रेडियोले अभियान नै सञ्चालन गरिरहेको छ ।

विपदको समयमा स्थानीय सरकारलाई पनि साथ लिएर एकले अर्कोलाई सहयोग गर्नुपर्छ भन्ने उद्देस्यका साथ पोखराको थ्रि एन्जल्स सामुदायिक रेडियोले सञ्चालन गरिरहेको कोरोना विपदमा रेडियोको पहल कार्यक्रम धेरै मानिसको साहारा बनेको हो ।

रेडियोमा टेलिफोनमार्फत आएका समस्याहरुमध्ये अधिकांश समस्या उपभोग्य वस्तुसंग सम्बन्धित हुने गरेका छन् । “खाद्यान्नको समस्या टार्न कठिनाई परेकाहरुले रेडियोमार्फत समस्या व्यक्त गर्नुहुन्छ, र ती समस्याहरु रेडियोकै श्रोताहरुले समाधान गरिदिने गर्नुभएको छ” रेडियोका म्यानेजर सिलास केसीले भने ।

लकडाउन जारी भएको २५ औँ दिनबाट सुरु गरिएको उक्त कार्यक्रममा डेढ घण्टाको अवधिमा दैनिक ३५ जना भन्दा बढि श्रोताहरुको सहभागिता रहने गरेको रेडियोका कार्यक्रम म्यानेजर एवं समाचार प्रमुख जीवन सुवेदीले बताए । “हामीले हरेक दिन विहान ७ः३० देखि ९ः०० बजे भित्र टेलिफोन मार्फत आएका समस्याहरुलाई यथासक्य तत्कालै सम्बोधन गर्ने प्रयास गरेका छौँ, आँफुलाई परेको समस्या सुनाएपछि तत्काल समस्या समाधान हुँदा श्रोताहरुले पनि रेडियोको महत्व बुझेको अनुभव गरेका छौँ” सुवेदीले भने ।

रेडियोमा समस्या सुनाएपछि सहयोगी एवं दाताहरुले पनि सहयोगको प्रतिवद्धता जनाउने गरेका छन् । रेडियोमा समस्या सुन्दा निकै दुःख लाग्ने गरेकाले आँफूहरुले सहयोग गर्न चाहेको उनीहरु बताउछन् । समस्या सुनिसकेपछि समाधानका लागि अहिलेसम्म बगरका मनी गुरुङ, सराङ्कोटका निल बहादुर थापा, चाउथेका प्रेम बहादुर थापा, थ्रि एन्जल्स नेपालका विभिन्न पदाधिकारीहरु, पोखरा १० का नर्बु योल्मो, रामघाटकी शारदा गौतम, नयागाउँ चर्चका लाजरस हितैसी, छोरेपाटनका कमल कार्की, चरक मेमोरियल अस्पतालका डा बद्री पौडेल, पोखरा २३ बाम्दीका रिखिबहादुर राना, रुपा गाउँ पालिका अध्यक्ष नबराज ओझा, महेन्द्रपुलका विपि ढुंगाना, विरौटाका प्रेम थापा, व्यवसायी यूवराज खतिवडा, पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपाली, पोखरा १५ का अध्यक्ष प्रकाश पौडेल, महानगरका उपमेयर मन्जुदेवि गुरुङ लगायतले यस अभियानमा साथ दिएका छन् । साथै आफ्नो नाम सार्वजनिक गर्न नचाहने दाताहरुले पनि सहयोग प्रदान गर्दै आएका छन् ।

रेडियोकै पहलमा अहिलेसम्म प्रत्यक्ष रुपमा करिब तीन सय जनाको परिवार र अप्रत्यक्ष रुपमा हजारौँ व्यक्तिले खाद्यान्न, ग्यास, निशुल्क कोठा, निशुल्क यातायात, निशुल्क औषधि लगायत सहयोग प्राप्त गरेको रेडियो व्यवस्थापन समितिका अध्यक्ष डा. मदन थापाले बताए । अहिलेको विषम परिस्थितिमा रेडियोले गरेको यस कार्यक्रमको सर्वत्र प्रसंसा भईरहेको उनले बताए ।

मानव बेचविखन विरुद्ध क्रियाशिल थ्रि एन्जल्स नेपालका कार्यक्रमहरु रोकथाम उद्धार र पुनस्थापनामध्ये समुदायस्तरमा जनचेता जगाउनका निम्ति रोकथाम कार्य अन्र्तगत रेडियोले विभिन्न चेतनामूलक कार्यक्रमहरु पनि गर्दै आएको छ । कोरोना विपदको यस दुखद अवस्थामा रेडियोले हरेक नेपालीको मन– मनमा बस्न सक्नेगरी काम गरेको र आगामी दिनमा टेलिभीजन मार्फत पनि आम जनसमुदायको सेवा गर्ने योजना रहेको थ्रि एन्जल्स नेपालका अध्यक्ष डा. राजेन्द्र गौतमले जानकारी दिए । अब बैदेशिक रोजगारीमा पुगेर स्वदेश फर्किन नपाएका व्यक्तिलाई स्वदेश फकाउन सहजिकरण गर्ने गरी कार्यक्रमहरु सञ्चालनको योजना गरिएको उनको भनाई छ ।

सबै ठाउँमा सरकार समेत पुग्न नसकेको र रेडियोको माध्यमबाट समस्या उजागर भई समाधान पनि भएकाले थ्रि एन्जल्स सामुदायिक रेडियोको उच्च प्रसंसा भईरहेको संस्थाका अध्यक्ष शारदा खत्री गौतमले बताए ।

सेवामा समर्पित भन्ने मूल नाराका साथ स्थापित थ्रि एन्जल्स सामुदायिक रेडियो एडभेन्टिष्ट नेपाल अन्र्तगत सञ्चालित छ । हरेक विपदको समयमा सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका हुन्छ भन्ने कुरा अहिले थ्रि एञ्जल्स रेडियोले पुष्टि गरेको थ्रि एन्जल्स नेपालका मिडिया एण्ड मार्केटिङ डाईरेक्टर गणेश कुमार श्रेष्ठले बताए ।

कोरोनाकै महाभारीका बीच यसबाट बच्न अपनाउनुपर्ने सावधानीबारे विज्ञहरुको परामर्श, मनोसामाजिक मनोविमर्शकर्तासंगको कुराकानी, सिमा मिचिएको विषयमा चर्को विरोध सहितका कार्यक्रम र भेदभाव तथा वर्तमान समयमा मानव बेचविखन रोकथामका लागि पनि रेडियोले विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: