अबको शिक्षा वैकल्पिक शिक्षामा आधारित हुने : मेयर मानबहादुर जिसी

Share:

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले कोरोनाका कारण जनजीवन सामान्य नहुन्जेलसम्म अबको शिक्षा वैकल्पिक शिक्षामा आधारित हुने बताएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीले आयोजना गरेको राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगितामा बोल्दै जिसीले शिक्षा मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको र असार १ बाट देशभरका विद्यालयमा लागू गरिने बताए । जिसीले भने – पोखरा महानगरपालिकाले विगत २ महिनाअघि देखि नै हाम्रो पोखरा राम्रो पोखरा नामक सिकाइ सम्बन्धि कार्यक्रम पोखराका सबै टेलिभिजनबाट हरेक बिहान १० बजेदेखि प्रशारण भइरहेको छ । वैकल्पिक शिक्षाको एक माध्यममार्फत संगठनले गरेको यो कार्यक्रम अत्यन्तै समयसापेक्ष र प्रशंसायोग्य भएको भन्दै आयोजकलाई धन्यवाद र विद्यार्थीहरुमा सफलताको शुभकामना दिए ।

त्यस्तै कार्यक्रमको समीक्षा गर्दै त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. पदमप्रसाद खतिवडाले हरेक विद्यार्थीहरको प्रस्तुतिले अत्यन्त हर्षित भएको बताए । प्रतियोगी विद्यार्थीहरुको प्रस्तुतिको सारवस्तु बताउँदै सिकाइ जीवनपर्यन्त चल्ने प्रक्रिया भएकाले आफूले पनि विद्यार्थीको आवाजबाट आफूले पनि धेरै कुरा सिकेको बताए । अबका विद्यार्थीमा विश्लेषणात्मक सोचको विकास हुनेमा विश्वास गर्दै पूर्ववक्ताका भनाईहरु नदोहोर्याउन अनुरोध गरे । विद्यालय खोल्न नसकिरहकोमा यस्तो कार्यक्रम गरेकामा संगठन कास्कीलाई बधाई र धन्यवाद दिए ।

प्रतियोगिताका निर्णायक मण्डलमा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. यदुनन्दन उपाध्याय, सह प्रा.डा. पुण्यप्रसाद शर्मा, पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत डोलराज अर्याल, नेपाली भाषा शिक्षक परिषद कास्कीका अध्यक्ष डिल्लीराम अर्याल र नेपाली भाषा शिक्षक परिषद कास्कीका कोषाध्यक्ष शिवहरि सुवेदी रहेका छन् ।

प्रतियोगिताको दसौँ दिन नेपालको प्राकृतिक सम्पदा, सम्भावना र चुनौति भन्ने शीर्षकमा सुवास अधिकारी, सूचना क्षेत्री, सुलोचना सुवेदी, सुमिका गौतम, सुस्मा थारु, स्वीकृति पाण्डे, संयोग एक अधिकारी, उर्मिला घले, उर्मिला तामाङ, उषा कुमारी कार्की गरि १० जनाले वक्तृता प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजार, दोस्रोलाई, १५ हजार, तेस्रो हुनेलाई रु १० हजार, ७ जनालाई रु २ हजारका दरले सान्त्वना पुरस्कार र सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने र कार्यक्रममा सहभागीताका हरेक दिन बिहान ७.३० देखि ९ बजेसम्म जुम आइडी : ९८५१०८०८६० र पासवर्ड : ३०५०२८ मा लग इन गर्न सकिने कार्यक्रमका अध्यक्ष रोमहर्षण पौडेलले बताए । प्रतियोगितामा ९७ जना विद्यार्थी सहभागी भएका मध्ये अडिसन राउण्डबाट २० जना अर्को चरणमा प्रवेश गर्ने पौडेलले जानकारी दिए ।

कार्यक्रमको मिडिया पार्टनर रेडियो अन्नपूर्ण पोखरा, सहआयोजक तथा सोसल मिडिया पार्टनर कुल्याब्स् डट कम, अनलाइन पार्टनर परिचय नेटवर्क, सारङ्गी न्युज, मादी न्युज र विशेष सहयोगी पोखरा महानगरपालिका रहेको छ । कार्यक्रम हरेक दिन बिहान ७.३० देखि ९ बजेसम्म जुम एपमा हुनेछ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँका अध्यक्ष धु्रव सिग्देल, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीका अध्यक्ष मोतीलाल सुवेदी, नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका कोषाध्यक्ष विष्णु भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका सञ्चालन संयोजक तिर्थराज ढकाल र प्रविधि संयोजक दामोदर तिमिल्सिनाले गरेका थिए भने संगठन जिल्ला अध्यक्ष रोमहर्षण पौडेलले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: