
काठमाडौँ । नेपालमा थप ४२५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। ती मध्य ३७५ जना पुरुष र ५० जना महिला छन् ।
मोरङका २५ जना, सुनसरीका १ जना, झापाका १ जना, सप्तरीका १० जना, पर्साका १७ जना, बाराका ९ जना, सर्लाहीका ६ जना, रौतहटका ७६ जना, नवलपरासी पूर्वका २ जना, बझाङका ५ जना, डडेलधुराका २४, डोटीका ३ जना, कैलालीका १२ जना, कञ्चनपुरका २० जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी बर्दियाका ३ जना, बाँकेका ३ जना, रुकुम पश्चिमका १ जना, प्युठानका २ जना, दाङका ५४ जना, धनुषाका १ जना, रामेछापका २ जना, गुल्मीका ८ जना, नवलपरासी पश्चिमका २ जना, रुपन्देहीका २६ जना, पाल्पाका १८ जना, सुर्खेतका ४० जना, दैलेखका २९ जना, सिन्धुलीका १ जना, धादिङका २५ जनामा संक्रमण पुष्टि भएको छ ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। ती मध्य ५ हजार ३ सय २४ पुरुष ४३६ जना महिला छन् ।
आज रुकुम पश्चिम जिल्ला थप भइ ७३ जिल्लामा संक्रमण फैलिएको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप ६१ जना कोरोना संक्रमणमुक्त भएका छन्। ती मध्य ६ जना महिला र ५५ जना पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार नारायणी अस्पताल विरगञ्जबाट १२ जना, पाटन अस्पताल ललितपुरुबाट १ जना, वीपी कोइराला प्रतिष्ठान धरानबाट ३ जना, नर्सिङ इस्टिच्युट गौर रौतहटबाट ९ जना , डडेलधुरा अस्पतालबाट ५ जना, दार्चुला अस्पतालबाट १ जना, डोडी अस्पतालबाट १ जना, सेती प्रादेशीक कैलालीबाट ६ जना, सहपूर्वा आइसोलेशन सेन्टर बाँकेबाट ८ जना, खजुरा क्यान्सर अस्पताल बाँकेबाट ८ जना, कोरोना विशेष अस्पताल दाङबाट ६ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका हुन् ।
योसहित नेपालमा हालसम्म ९७४ जना उपचारपछि निको भएका छन्। यी मध्ये ८७७ जना पुरुष र ९७ जना महिला छन्।
त्यस्तै गुल्मीका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। धुर्कोट गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनको जेठ १२ गते प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पाइएको थियो। उनी भारतबाट आएको मन्त्रालयले जानकारी दिएको छ। उनको रेसुंगा नगरपालिकास्थित आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ।
