कास्कीका एसपी कार्कीको सरुवा, जीवन श्रेष्ठ आउने, ३६ एसपीहरुको सरुवा, १५ जिल्लाका एसपी फेरिए (सूचीसहित)

Share:

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीको सरुवा भएको छ । ठ्याक्कै १ वर्षमा कार्कीको प्रहरी प्रधान कार्यालय, विशेष ब्यूरो नक्शाल काठमाण्डौमा सरुवा भएको हो । उनी अघिल्लो बर्षको जेठ दोस्रो साता कास्कीमा आएका थिए ।

कास्कीको नयाँ प्रमुखको रुपमा एसपी जिवन कुमार श्रेष्ठ आउने भएका छन् । उनी अहिले प्रदेश नं. ५ प्रहरी कार्यालय, दाङमा कार्यरत छन् । श्रेष्ठले हालै महानगरीय ट्राफिक महाशाखाका प्रवक्ताका रुपमा काम गरिसकेका छन् ।

३६ एसपीहरुको सरुवा, १५ जिल्लाका एसपी फेरिए

नेपाल प्रहरीका ३६ जना एसपीको सरुवा भएको छ । सोमबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले असार महिनाको तलब भत्ता खानेगरि एसपीको सरुवा गरेका हुन् । सरुवामा १५ जिल्लाका इन्चार्ज फेरिएका छन् । विगतमा पटक पटक कारबाहीमा परेका एसपीहरुले पनि फेरि महत्वपूर्ण जिल्लाको इन्चार्ज पाएका छन् ।

कास्कीमा जिवन कुमार श्रेष्ठका साथै गोरखामा सुरेन्द्रबहादुर गुरुङ, तनहुँमा अरुण पौडेल, मोरङमा सन्तोष खड्का, बाँकेमा ओमबहादुर राना, इलाममा नवीनकुमार राई, भक्तपुरमा तारादेवी थापा, सिराहामा उमाशंकर पञ्जियार, धनकुटामा गोविन्द अधिकारी, डोटीमा जनकराज पाण्डेय, महोत्तरीमा टिकाबहादुर केसी, पाल्पामा दिपकराज खरेल, कपिलवस्तुमा नवराज अधिकारी, उदयपुरमा भिम प्रसाद दाहाल, सुर्खेतमा राजेन्द्र प्रसाद भट्टको सरुवा भएको छ । एक वर्ष कार्यकाल पूरा गरेका एसपीहरुको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो ।

समग्रमा कार्कीको कार्यकाल सफल

तार्किक क्षमता र स्पष्ट प्रहरी अफिसरका रुपमा चिनिएका एसपी कार्कीको कास्कीमा १ वर्षको कार्यकाल सफल नै रह्यो । यस बीचमा कास्कीमा हरेकजसो घटनाको अनुसन्धानमा उनी सफल नै रहे । कास्की आउने बित्तिकै लागूपद्धार्थ ओसारपसार, जुवातास विरुद्ध एकोहोरो मिसनका साथ होमिए । जसले आउने बित्तिकै ह्वात्तै हाइट बढायो ।

कार्कीलाई नेकपा विप्लव समूहका कार्यकर्ता भन्दै नागरिकलाई दुःख दिएको भनेर आलोचना पनि गरिदैँ आएको छ । तर, कार्कीले आफू प्रमाणका साथ अघि बढेको तथा संगठन र कानुनलाई शिरोधार्य गर्दै आफ्नो दायित्व निर्वाह गरेको बताउँछन् । उनले आफ्नो कार्यकाल अवधिभर साथ दिने कास्कीका आम नागरिक, पत्रकार सबैप्रति आभार प्रकट गरेका छन् ।

लकडाउनका समयमा भएका तीन ठूला हत्याका घटना पनि शव भेटिएको दुई दिनभित्रै सफल अनुसन्धान गरेर दोषीलाई उम्कन दिएनन् । उनी जस लिएरै कास्की छाड्दैछन् ।

कमेन्ट गर्नुहोस्
Share: