
काठमाडौँ । नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित भएको छ । शुक्रबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले यसलाई राजपत्रमा प्रकाशित गरेको हो ।
नयाँ नक्सा छापिएको राजपत्र आइतबार सबै मन्त्रालय, निकाय र प्रदेश सरकार र स्थानीय तहसहित राज्यका सबै कार्यालयलाई पठाइने जनाइएको छ ।
यो सँगै संविधान संशोधन प्रक्रियाले पूर्णता पाएको छ र लिम्पियाधुरा लगायतका नेपाली भूभाग नेपालको निशाना छापमा समावेश भएको छ।
बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गर्ने संविधान संशोधन विधेयक प्रमाणीकरण गरकी थिइन् ।
विधेयक बिहीबार नै राष्ट्रिय सभामा सर्वसम्मतिले पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तत्कालै प्रमाणित गरी राष्ट्रपति कार्यालय पठाएका थिए। राष्ट्रपति भण्डारीले बिहीबार नै विधेयक प्रमाणीकरण गरेकी थिइन्।
सरकारले गत जेठ ९ गते प्रतिनिधि सभा सचिवालयमा संविधानको दोस्रो संशोधन विधेयक दर्ता गराएको थियो।
त्यसअघि सरकारले जेठ ७ गते भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका भूभाग समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको थियो।


