
तनहुँ । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भएकाले भौतिक दूरी आयोजना गरेर मात्र कार्यक्रम गरिने जनाइएको छ ।
विसं १८७१ असार २९ गते तनहुँको भानु नगरपालिका–४ शिखरकटेरीमा जन्मिएका भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो ।
नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका थिए ।
तनहुँको भानु नगरपालिकामा सार्वजनिक बिदा
भानुजयन्तीका अवसरमा आज तनहुँको भानु नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ । नेपाली भाषाका धरोहर भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाले गत वर्षदेखि भानुजयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णयलाई यस वर्ष पनि निरन्तरता दिइएको नगरपालिकाका वरिष्ठ अधिकृत एवं सूचना अधिकारी सुनिल पाण्डेले बताए ।
भानुजयन्तीका अवसरमा नगरपालिकास्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, वडा कार्यालय बन्द रहनेछन् ।
यसैबिच सोमबार भानुजन्मस्थल विकास समितिमा रामायणवाचन कार्यक्रम आयोजना गरिएको छ । भानुजयन्तीका अवसरमा घर आँगन, टोल सरसफाइ, दिपावली र प्रभातफेरीलगायतका कार्यक्रम हुने जनाइएको छ ।
