
तनहुँ । तनहुँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पहिरोले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अञ्जनाको मृत्यु भएको हो । कमलाका २० वर्षीय छोरा राजेश थापा भने अझै बेपत्ता छन् । कमलाका पति केशरबहादुरलाई भने घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल ल्याउने तयारी गरिएको छ । सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिराले पुरिएर मृत्यु भएको छ ।
यसैगरी पहिरोले पुरिएर म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडा बस्ने १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको छ । ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा पहिराले पुरिएर बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ भने बाँकी चार जना बेपत्ता छन् । बेपत्ताको खोजी कार्य भइरहेको ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।
स्थानीय अनबहादुर थापाको घर पहिराले पुरिँदा जेठो छोरा ३० वर्षीय भेषबहादुर थापा, निजकी श्रीमती २९ वर्षीया नानुमाया, छोरी ५ वर्षीया अमिषा थापा, अनबहादुरको कान्छो छोरा २२ वर्षीय महादेव थापा र निजकी श्रीमती १९ वर्षीया मनिसरा थापा बेपत्ता छन् । सोही ठाउँकै ६० वर्षीय ज्योतिमाया थापाको भने उद्धारपछि उपचार भइरहेको प्रहरीले जनाएको छ ।
