
म्याग्दी । म्याग्दीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या २८ पुगेको छ । रघुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ र मालिका–७, विममा गएको पहिरोमा परेर बेपत्तामध्ये हिजो थप एक जनाको शव भेटिएसँगै मृतकको संख्या २८ पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
आइतबार मराङका खिमबहादुर जुग्जालीको शव भेटिएको प्रहरीले जनाएको छ । यसअघि शनिबार २७ जनाको शव भेटिएको थियो । शनिबार मृतावस्थामा फेला परेकामध्य धवलागिरि गाउँपालिका–६ मराङ रिखामा सुकना लामगादे, आशीष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रपाली, सुरक्षा श्रपाली, सुरज श्रपाली र जनिमा केसीको छोरा प्रकाश केसी, तुल बहादुर क्षेत्री, हिरा मति जुग्जाली,करिश्मा जुग्जाली, कञ्चन जुग्जाली, गौशरा जुग्जाली, दिमा जुग्जाली, दिप्ती जुग्जाली तथा उनका १ वर्षीय छोरा दिवान जुग्जाली रहेको प्रहरीले जनाएको छ ।
यस्तै सोही जिल्लाको मालिका गाउँपालिका–७ विम दुलेमा विष्णु पौडेल र उनकी ४ बर्षीया छोरी ईच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली र उनकी तीनमहिने छोरी निशा नेपाली, सन्दिप नेपाली तथा विष्णु नेपाली पनि मृतावस्थामा भेटिएका थिए । म्याग्दी रघुगंगा गाउँपालिका-ठाडाखानिका ५० वर्षीय नलिमान छन्त्याल पनि मृत फेला परेको प्रहरीले जनाएको छ ।
बाढी र पहिरोमा परेर मालिका–७, बिमकी एलिसा केसी, धवलागिरी–६, मराङ (कल्लेनीका) जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता मालिका–६, दरबाङकी गीता रोका भने अझै बेपत्ता छन् ।
पहिरोमा परेर घाइते भएका दुईजना गर्भवतीसहित १३ जनालाई उद्धार गरेर बेनी, पोखरा र काठमाण्डौमा उपचारका लागि पठाइएको छ । ओमकुमारी शान्ति कोष र जीसी ग्रुपका अध्यक्ष नारायण जिसीको पहलमा प्रभु एअरको हेलिकप्टरमा घाइते र गर्भवतीको उद्धार गरिएको थियो ।
पहिरोमा परेर घाइते भएका ६ जना बेनी अस्पतालमा उपचारपछि घर फर्किएको जनाइएको छ । पहिरोबाट मराङमा २०, विममा १० र ताकममा पाँचवटा घरमा भौतिक क्षति पुगेको भनिए पनि बाढी पहिरोबाट अधिकांश घर तथा गोठमा क्षति पुगेको जनाइएको छ । पहिरोबाट ध्वस्त भएका घरहरुको तथ्याङ्क सङ्कलनको काम सुरु भएकाले एकिन तथ्याङ्क भने अझै आइनसकेको प्रहरीले जनाएको छ ।
अहिले पहिरोबाट विस्थापित तथा अलपत्रको उद्धार गरेर सामुदायिक भवन तथा विद्यालय र आफन्तको घरमा व्यवस्थापन गरिएको छ । म्याग्दीमा बाढी पहिरोबाट धवलागिरीका ५ सय ९० जना, मालिकाका १ सय ९६ जना, रघुगंगाका ८५ र बेनी नगरपालिकाका २५ जनासहित जिल्लाभर कुल ८ सय ९६ जनालाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ ।
सामूहिक अन्त्येष्टि
मराङको पहिरोमा परेकामध्ये १९ जनाको शव भेटिएको छ भने २ जना अझै बेपत्ता छन् । ज्यान गुमाएका १९ जनाको आइतबार अन्त्येष्टि गरिएको छ ।
गएको बिहीबार राति बस्ती माथिबाट खसेको पहिरोमा परेर ज्यान गुमाएका १९ जनाको मराङको विभिन्न स्थानमा दाहसंस्कार गरिएको हो । पहिरोमा परेर ज्यान गुमाएकाहरुको आवश्यक कानुनी प्रक्रिया गरी आफन्त तथा परिवारलाई बुझाइएको हुँदा उनीहरुको सामूहिक एवं एकल रुपमा दाहसंस्कार भएको प्रहरीले जनाएको छ ।
