
पोखरा । हिमाली जिल्ला मुस्ताङको लोमन्थाङमा रहेको पाल ऐहाम नामग्याल गुम्बा स्कुलले कोभिड १९ र प्राकृतिक विपत्तिमा परेकाहरुलाई राहत प्रदान गरेको छ । लोमान्थाङ गाउपालिका ३ मा स्थाइ रुपमा सञ्चालनमा रही हिउँदको समयमा पोखरा १८ खपौदीमा सञ्चालन हुँदै आएको गुम्बा स्कुलले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्युनिकरणका लागी प्रदेश सरकार र पोखरा महानगरले स्थापना गरेको कोरोना विपद कोषमा नगद र प्राकृतिक विपद पहिरोमा परी घरपरिवार गुमाएकाहरुलाई राहत स्वारुप खाद्यान्न वितरण गरेको हो ।
गुम्बा स्कुलले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ७० हजार र पोखरा महानगरले स्थापना गरेको कोषमा ५० हजार रुपैयाँ प्रदान गरेको हो । त्यसैगरी गुम्बा स्कुलले निरन्तर वर्षा सँगै आएको वाढी र पहिरोका कारण घर परिवार गुमाएका परिवारहरुलाई समेत खाद्यान्न सामाग्री प्रदान गरेको छ । मुस्ताङबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने सांसद ईन्द्रधारा विष्टको सक्रियतामा पोखरा महानगरपालिकाको वडा नम्बर ३२ लामे आहालमा रहेको राधाकृष्ण वृद्धाश्रममा र पोखरा २६को पैते डाँडाँ पहिरो पिडितलाई समेत खाद्यान्न सामाग्री प्रदान गरेको हो ।
गुम्बा स्कुलले शुक्रबार राधाकृष्ण वृद्धाश्रम र पोखरा २६ पैते डाडाका पहिरोपिडितलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको हो । सो अवसरमा राधाकृष्ण वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले विगत केही दिनदेखी परेको अविरल वर्षाका कारण वृद्धाश्रम डुवानमा परेको र आश्रममा रहेका वृद्धवृद्धाहरुलाई आश्रममा बस्न समेत अफ्ठेरो परिरहेको र आश्रम विभिन्न संघ सस्था र व्यक्तिहरुको सहयोगबाटै सञ्चालनमा रहेकाले गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टको सक्रियतामा यसअघि पनि मुस्ताङको साग वितरण सँगै अहिले आएर वृद्धाश्रममा खाद्यान्न वितरण गरेर सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।
पोखरा २६ पैते डाँडाँ पहिरो पिडितहरुलाई करिव ५० घर परिवारलाई लक्षित गरी खाद्यान्न सामाग्री हस्तान्तरण गरी ठूलो गुण लगाएको पोखरा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नारायण बरालले बताए । नेपाल रेडक्रस, पोखरा महानगर र वडा नम्बर २६ ले केही सहयोग गरेको र पहिरोमा परि एकजना गुमाएको भएतापनि करिव ५० घर परिवार विस्थापित भएको र स्थानिय अमरज्योति आधारभुत विद्यालयमा आश्रय लिइरहेको अवस्थामा गुम्बा स्कुलले खाद्यान्न सहयोग गरेर ठूलो गुण लगाएको अध्यक्ष बरालको भनाइ रहेको थियो ।
हिमाली जिल्लामा रहेको गुम्बा स्कुलले वर्षेनी सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको सन्दर्भमा यो पटक नेपालमा मात्र नभइ विश्वमानै आक्रान्त पारेको कोभिड १९ सँगै नेपालमा प्राकृतिक विपत्तिमा परेका परिवारहरुलाई गुम्बा स्कुलले सहयोग गरेकोमा गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले गुम्बा स्कुललाई धन्यवाद व्यक्त गदै पोखरा २६ को पैते डाँडाँ पहिरो पिडितलाई आवश्यक सहयोगका लागि प्रदेश सभामा समेत आफुले कुरा राख्ने प्रतिवद्धता व्यक्त गर्दै दुखदको घडीमा सहनशील भएर अगाडि बढ्न समेत पिडितहरुलाई आग्रह गरे ।
पाल ऐहाम नामग्याल गुम्बा स्कुलका प्रध्यानाध्यापक ग्याचो गुरुङ र सोनाम लामाले आफुहरुको स्कुलले कोरोनालाई मध्येनजर गरी स्थापना गरिएको कोषमा १ लाख २० हजार नगद र प्राकृतिक प्रकोप पहिरोमा परि घरबार गुमाएका ५ सय परिवारलाई खाद्यान्न सामाग्री वितरण गर्ने आफुहरुको लक्ष्य रहेको बताए । पोखरा ३२ र २६ सँगै कास्कीका अन्य क्षेत्रमा पहिरोमा परेका परिवारहरुलाई आफुहरुले वर्षायाम नसिद्धिय सम्म खाद्यान्न सामाग्री वितरण गर्ने समेत उनीहरुको भनाइ रहेको थियो । हिमाली जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिका वडा नम्बर ३ मा रहेको पाल ऐहाम नामग्याल गुम्बा स्कुलले हिउँदको समयमा पोखरा महानगरपालिका १८ खपौदीमा स्कुल सञ्चालन गर्दै आएको छ ।
