
काठमाडौँ । सरकारले मंगलबार मध्यरातदेखि लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार राती १२ बजेबाट अन्त्य गर्ने निर्णय गरेको हो ।
कोरोन भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो ।
लकडाउन अन्त्य भएपनि सुरक्षाका उपाय अपनाउनु पर्ने र केही निश्चित सेवा भने संचालन नहुने सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन्।
खतिवडाका अनुसार शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्सबारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।
तर सरकारले होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट खुला गर्न अनुमति दिएको छ । रेस्टुरेन्टहरुमा पार्टी र जमघट भने गर्न नपाइने सरकारले निर्णय गरेको छ।
यस्तै भदौ १ गतेबाट लागू हुने गरी सरकारले विद्यार्थी भर्ना खुला गर्ने तर विद्यालय सञ्चालन भने नगर्ने निर्णय गरेको छ। भदौ १ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका क्रियाकलाप पनि संचालन गर्ने निर्णय सरकारले गरेको छ।
छोटो, मध्यम र लामो दुरीका सवारी साधन पनि सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ। यसैबिच निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली पनि हटेको छ । सार्वजनिक यातायात सञ्चालन पनि भएकाले निजी सवारीको जोर विजोर हटाइएको जनाइएको छ ।
सरकारी कार्यालयमा हाल भइरहेको दुई ‘सिफ्ट’को व्यवस्था पनि अन्त्य गरिएको छ । अब विहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन हुने जनाइएको छ ।
