
बागलुङ । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले पुरिएर दुई जना बेपत्ता भएका छन्।
गएराति साढे आठ बजे खसेको पहिरोले स्काभेटर, टिपर र ट्रयाक्टर पुरेको छ। उक्त पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्रयाक्टर चालक रोशन नेपाली बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्काभेटर चालक भने सम्पर्कमा आएका छन्।
ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिराले ध १ च ४७ नम्बरको ट्रयाक्टर र ग १ ख ४६३७ नम्बरको टिपर र नम्बर नखुलेको स्काभेटर पुरिएको जनाइएको छ ।
पहिरो गएको केहीबेरमै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको थियो। निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उद्धारको प्रयास गरिए पनि सम्भव हुननसकेको बताइएको छ ।
आइतबार बिहानैदेखि पनि उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ।
