
पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ को स्थानीय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत पोखरा ९ शान्तिवनमा ढल तथा स्ल्यावको निर्माण कार्य सम्पन्न भएको छ ।
पुर्वाधार विकास कार्यक्रमको ७ लाख ९० हजार तथा २ लाख ४८ हजार १ सय ८०को स्थानीय जनश्रमदान १० लाख ४० हजार ३ सय ३६को लागतमा निर्माण कार्य सम्पन्न भएको हो । गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले ढल तथा स्ल्याबको उद्घाटन गर्दै समुदाय स्तरको सचेतना र अपनत्वमा भएको विकास दिगो र प्रभावकारी हुने बताए । भूमीहिन सुकुम्बासी लगायत आधारभुततहका जनता बसोबास रहेको क्षेत्रको विकास निर्माणमा राज्यको ध्यान पुग्नु पर्ने उल्लेख गर्दे उपसभामुख शर्माले सुकुम्बासीको आयोग बनेको अवस्थामा सुकुम्बासीको पक्षमा काम गर्ने विश्वास व्यक्त गरे ।
गण्डकी प्रदेशसभाका सदस्य रामजी बरालले प्रिय नेता रवीन्द्र अधिकारीको सपना पुरा गर्न प्रतिनिधीसभाका सदस्य विद्या भट्टराई लागि परेको बताए । उनले स्थानीय समुदायको सक्रियता र जनप्रतिनिधीहरुको पहलमा विकास निर्माणको काम भएको उल्लेख गर्दै अव लामो समयसम्म भूमीहिन र सुकुम्बासी नरहने दावी गरे । क्षेत्री समाज नेपालका अध्यक्ष तथा प्राडा दिलबहादुर क्षेत्रीले जहाँ आवश्यकता त्यहाँ विकास निर्माण लैजानु पर्ने सुझाव दिए । उनले टोलवासीहरुले आफ्नो काम आफै गर्नु पर्ने बताए ।
शान्तिवन ढल तथा स्ल्याब निर्माण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य मिना गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर ९ का सदस्य राममाया मानन्धर, निर्माण अनुगमन समितिका संयोजक प्रकाश शर्मा, निर्माण समितिका कोषाध्यक्ष पुर्खबहादुर मगर लगायतका वक्ताले विकास निर्माणको बारेमा बोलेका थिए ।
