
पोखरा । आज साउन १५ अर्थात खीर खाने दिन । बालबालिकादेखि वृद्धवृद्धासम्मको अति प्रिय भोजन खीर खाएर साउन १५ मनाइँदै छ ।
असार १५ मा दही चिउराको स्वाद लिएको ठीक एक महिनापछि साउन १५ मा खीर खाने चलनको विशेष सांस्कृतिक र औषधिजन्य महत्व छ ।
खीरले मानिसमा रोगसँग लड्ने क्षमता बढाउने हुँदा शरिरीरलाई तन्दुरुस्त राख्न खीर उपयोगी हुन्छ। लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खीरको सेवन राम्रो मानिन्छ।
यस्तै गोठ धुप, देव र पितृ कार्यमा पनि खीर पाक्ने हुँदा सांस्कृतिक रूपमा पनि खीरलाई पवित्र भोजन मानिन्छ।
दूध–भात अर्थात् मिठो र पोषिलो खानेकुरा अनि यहि हाम्रो सर्वप्रिय दूधभातसंग संख्खर अथवा गूँडको संयूक्त पाकपछि तयार हुने परिकार हो, खिर । चामलमा दूध हालेर किसमिस, काजू, नरीवल, छोहडा जस्ता विशेष मरमसला आदि हालेर खिर बनाइन्छ ।
यसैबिच आज श्रावण पुत्रदा एकादशी पनि हो । पुत्रदा एकादशी श्रावण र पौषमा गरी वर्षमा दुई पटक पर्दछ । श्रावण शुक्ल पक्षको एकादशीलाई श्रावण पुत्रदा एकादशी र पौष शुक्ल पक्षको एकादशीलाई पौष पुत्रदा एकादशी भनिन्छ ।
यस दिन ब्रत बसेमा पुत्र लाभ र शुख प्राप्त हुने विश्वास छ । पद्म पुराणका अनुसार पुत्र लाभका लागि पुत्रदा एकादशी व्रत निकै राम्रो मानिन्छ ।
सन्तानहीन या पुत्रहीन मानिसहरुले यो व्रत लिएको खण्डमा फल प्राप्ति हुने विश्वास छ ।
यस एकादशीको व्रत बस्नका लागि अघिल्लो दिन अर्थात दशमीकै दिनदेखि लसुन प्याज खानुहुँदैन । यस दिन बिहानै नुहाए ब्रत बसेमा सुख प्राप्त हुने र अधुरो काम बन्ने विश्वास छ ।
