नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

Share:

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

कोरोना संक्रमित काठमाडौँ टोखा नगरपालिका–६ की ४१ वर्षीया महिलाको साउन २३ गते शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

ती महिलालाई साउन १८ गते कोरोना पुष्टि भएको थियो । पाठेघरको क्यान्सर र निमोनियाको समेत बिरामी थिइन् ।

यस्तै कोरोना संक्रमणबाट पर्सा वीरगन्ज महानगरपालिका–३ छपकैया बस्ने ७४ वर्षीय पुरुषको साउन २३ गते शुक्रबार गण्डक अस्थायी कोभिड अस्पताल वीरगन्जमा निधन भएको मन्त्रालयले जनाएको छ । ती पुरुषमा मृत्युपछि लिइएको स्वाब नमुनाको परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो । उनी मधुमेह तथा दमका रोगी थिए ।

यसैगरी, मोरङ विराटनगर–९ बस्ने ५८ वर्षीय पुरुषको साउन २३ गते शुक्रबार नै कोसी अस्पतालमा मृत्यु भएको थियो । उनी उच्च रक्तचापका रोगी थिए । ती पुरुषमा पछिल्लो समय निमोनिया, ज्वरो तथा श्वास प्रश्वासमा समस्या देखिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: