
पवन पौडेल, तनहुँ १९ पुस । श्रीमती नभेटेको आवेशमा एक ज्वाईंले आफ्नै ससुरा र सालीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । भनाभन भएपछि घरबाट हिंडेकी श्रीमती खोज्न कास्की सात मुहाने देउरालीबाट ससुराली व्यास ८ काउलेभट्टी आएका करिब ४० वर्षका लक्ष्मण विकले ससुरा तथा उनकी नातिनीलाई समेत हँसिया, मुंग्रो र बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । घटनालगत्तै उनी फरार भएका छन् ।
करिब एक साताअघि घरबाट हिंडेकी पत्नी मधुलाई खोज्ने क्रममा ससुराली आएका उनले ससुरा ७० वर्षिय शंकर तथा उनकी नातिनी १५ वर्षिया मनिषाको ओछ्यानमै हतियार प्रहार गरी हत्या गरेका हुन् । पत्नी मधुलाई कहाँ राखिस् भन्दै ससुरालाई करिब एक हप्तायता धम्क्याउँदै आएकामा एक्कासी हत्या गरेर उनी फरार भएको स्थानीयले आशंका गरेका छन् ।
उनले शनिबार राती हत्या गरेको ठानिएको छ । पहिले भुइंतल्लामा ससुरालाई बञ्चरो प्रहार गरेपछि माथिल्लो तलामा उक्लिएका उनले भुईंमै पल्टेकी मनिषाको हंसिया र मुंग्रो प्रहार गरेर हत्या गरेको घटनास्थलको अनुसन्धानले देखिएको प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले बताए । मनिषाको शव नजिकैको खाटमा हंसिया र मुंग्रो फेला परेको छ भने शंकरको शव नजिकै बञ्चरो भेटिएको छ । घरको आँगनभर रगत बगेको थियो ।
अघिल्लो राती ज्वाईंहरुसंग कुरा गरेका शंकर र उनकी नातिनीको मृत्यु राती भए पनि छिमेकले भने शनिबार दिउँसो मात्र थाहा पाएका थिए । नियमित साप्ताहिक प्रार्थनामा जाने मनिषा नआएपछि बोलाउन गएका छिमेकी सागर कुमालले दुबैको शव देखेपछि दौडिंदै छिमेकलाई खबर दिएका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो ।
छोरा विदेशमा तथा बुहारी घर नजिकै छुट्टै बस्दै आएकाले वृद्ध शंकर एक्लै बस्दै आएका थिए । एक्लै बसेका हजुरबुबालाई साथ दिन कहिलेकाहीं नातिनी मनिषा जाने गरेकी थिइन् । हजुरबुबालाई सघाउन गएकी छोरीको हत्या भएपछि उनकी आमा अचेत छन् । विभत्स तरिकाले दुवैको हत्या भएपछि टोल छिमेक स्तब्ध छ ।

