नेपालमा कोरोनाबाट थप ४ को मृत्यु

Share:

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा थप ४ जनाको मृत्यु भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको पनि मन्त्रालयले गौतमले जानकारी दिएका छन् ।

गत २४ घण्टामा बाँके र पर्सामा १/१ र काठमाडौँमा २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बाँके कोहलपुर नगरपालिका वडा नं २ का ७० वर्षीया एक महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा साउन २५ गते मृत्यु भएको छ। उनको २५ नै गते कोरोना पुष्टि भएको थियो। ती महिला उच्च रक्तचाप तथा प्लाराइलासिसका बिरामी समेत थिइन् ।

यस्तै, पर्साको बेदियाही गाउँपालिका वडा नं १५ की ४५ वर्षीया एक महिलाको पनि मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो। मृत्यु भएकै दिन साउन २५ गते उनको कोरोना परीक्षण गर्दा पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसैगरी, काठमाडौँ–१० मध्य बानेश्वरका ७६ वर्षीय एक पुरुषको मेडिकेयर अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको छ। श्वासप्रश्वासमा कठिनाई तथा जिउ दुख्ने समस्या भएपछि उनी साउन २३ गते अस्पताल भर्ना भएका थिए।

उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उनको २४ गते स्वाब संकलन गरिएपनि सोमबार मात्र कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। उनी निमोनिया, उच्च रक्तचाप तथा मधुमेहका बिरामी समेत थिए।

त्यस्तै काठमाडौँ कीर्तिपुर ट्याङलाफाँटका ६४ वर्षीय एक पुरुषको पनि मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। उनको साउन ५ गते कोरोना पुष्टि भएको थियो। उनी मिर्गौलाका दीर्घरोगी समेत रहेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: