
पोखरा । पोखरा ९ नयाँबजार सिद्धमार्गस्थित चारभञ्ज्याङ तमु समाज पोखराले पनि ट्होटे मनाएको छ। तमुहरुको साँस्कृतिक पर्वको संरक्षण, महामारीका रुपमा फैलिएको कोरोनाको अन्त्य, समाजको बिकति विसंगति अन्त्य र मुलुकको समृद्धिको कामना गर्दै साउनको अन्तिम मंगलवार ट्होटे मनाएको हो।
चारभञ्ज्याङ तमु समाज भवनमा आयोजित ट्होटे समारोहको प्रमुख अतिथि चारभञ्ज्याङ तमु समाज अन्र्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष क्या.चन्द्रप्रसाद तमु, समाजका अध्यक्ष प्रदिप तमु र आमा समितिकी अध्यक्ष डम्बरकुमारी तमुले दीप र धुप प्रज्वलन गरी शुभारम्भ गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि क्याप्टेन तमुले यस पटकको ट्होटेले विश्व मानवजातिलाई चुनौति दिइरहको कोरोना भाइरसको अन्त्यको कामना गर्दै जटिल अवस्थाबाट विश्वमा सुधार आउने विश्वास व्यक्त गर्दै ट्होटेको शुभकामना दिइन् ।
समाजका अध्यक्ष प्रदिपकुमार तमुको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष क्याप्टेन टेकबहादुर तमुले स्वागत र सहसचिव बिना तमुले कार्यक्रम संचालन गरेका थिए ।
समाज भवनमा ट्होटे मनाउनुका साथै ट्होटे स्योकैं गरिएको थियो भने समाजमा ट्होटें कार्यक्रम समापन सँगै बाजागाजा बजाउदै समाजको व्यानरसहित नयाँबजार परिक्रमा गर्दै तमु धिं नेपालको ट्होटे कार्यक्रममा चारभञ्ज्याङ तमु समाज सहभागी भएको थियो।

