जानकी माविको चार कोठे पक्की भवन बन्ने

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन निर्माण गरिने भएको छ ।

नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा) को ७४ लाख ३५ हजार रुपैयाको लागतमा सो भवन निर्माण गरिने भएको हो ।

गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले आज एक समारोहका बीच सो भवनको शिलान्यास गर्दै सामुदायिक विद्यालयको भौतिक निर्माणसंगै शैक्षिक गुणस्तरतामा जोड दिनुपर्ने आवश्यकता औल्याए ।

“गुणस्तरीय शिक्षा समृद्ध नेपाल सुखी नेपाली अभियानको पहिलो आधार हो” उनले भने, “गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक एवम् विद्यार्थीको सामूहिक प्रयास आवश्यक छ ।”

जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले गुणस्तरीय निर्माणसँगै पारदर्शीताको खाँचो औल्याए ।

भुकम्प पश्चात कास्की जिल्लामा शिक्षातर्पm दुई अर्व रुपैँया भन्दा बढी लगानी भएको जानकारी दिंदै उनले भौतिक निर्माणसँगै विद्यार्थीको आकर्षण बढाउन शिक्षक वर्गको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १७ का वडाअध्यक्ष तिर्थराज अधिकारी, जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) कास्कीका प्रमुख लालप्रसाद पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुभाष ढुङ्गाना, शिक्षक अभिभावक संघका अध्यक्ष प्रेम थापा, प्रधानाध्यापक अर्जुन कडेल लगायतले शिक्षाको महत्व माथि प्रकाश पारेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: