
काठमाडौँ । राष्ट्रिय फुटबल टिमकोे बन्द परीक्षणमा सहभागी हुन आएका एक फुटबलरमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कतार विश्वकप छनोट र एसियन कप छनोट खेल्ने ३४ खेलाडीसहित प्रशिक्षक, अफिसियल र होस्टलका कर्मचारी गरि ५४ जनाको कोरोना परीक्षण गरिएकोमा बिहीबार ५३ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।
बाँकी एक जनाको नमुना पुन परीक्षणका लागि पठाइएकोमा आज नतिजा पोजिटिभ आएको हो । कोरोना देखिने खेलाडीको नाम भने गोप्य राखिएको छ ।
एन्फाले भदौ १ गतेबाट राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्ने तयारी स्वरुप सबै खेलाडीलाई उपत्यकामा बोलाएको थियो । खेलाडीलाई होटल तथा नीजि निवासमै राखेर कोरोना परिक्षण समेत सम्पन्न गरेको थियो । नेपालले असोजमा चाईनिज ताईपे र अष्ट्रेलियासँग तथा कात्तिकमा जोर्डनसँग खेल्ने तालिका थियो ।
तर अन्तिम समयमा एसियाली फुटबल महासंघ (एएफसी)ले कोरोना महामारीका कारण विश्वकप छनोट र एसियन छनोटका खेलहरु भने रद्द गरिसकेको छ । यससँगै एन्फाले समेत प्रशिक्षण अनिश्चित समयका लागि स्थगित गरेको छ ।
काठमाडौँ बाहिरका खेलाडीहरु घरसमेत फर्किसकेको जनाइएको छ ।
