
पोखरा । नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय समिति, कास्कीले कोरानाको महामारीको अवस्थासँगै बाढी पहिरो पिडित मगर कलाकारहरुलाई राहत वितरण गरेको छ ।
“सम्पूर्ण मगरहरु एक हौँ, सम्पूर्ण मगर संस्कृतिप्रेमी एक हौँ” भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै आएको नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय समिति, कास्कीले आइतबार एक कार्यक्रमको आयोजना गरि नगद तथा खाद्यन्न सामाग्री वितरण गरेको हो ।
कोराना भाईरस (कोभिड १९) को कारणले बन्दाबन्दी भएको लामो समयपछि लकडाउन खुलेपनि कलाकारहरु आफ्नो पेशामा फर्किन सक्ने अवस्था नरहेकोले केहि राहत स्वरुप मगर कलाकारहरुलाई नगद तथा खाद्यन्न सामाग्री प्रदान गरिएको समिति कास्कीका अध्यक्ष सरिता सारु मगरले जानकारी दिए ।
स्वदेश तथा विदेशमा रहेका व्यक्तिहरुबाट संकलित करिब रु १ लाख ६७ हजार ५ सयबाट कास्कीमा कर्मथलो बनाएर बस्ने ४४ जना मगर कलाकारहरुलाई सो सामाग्री वितरण गरिएको उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ शिक्षाविद्, राजनितिज्ञ एवं समाजसेवी नवराज गुरुङले कोरोनाबाट आक्रान्त भएका र बाढीपहिरोबाट प्रभावित भएका मगर कलाकारहरुलाई लक्षित गरी समितिद्वारा गरेको कार्यको प्रशंसा गरे ।
नेपाललाई कोरोनाले भन्दा बढी बाढीपहिरोले दर्दनाक र पिडादायी बनाईरहेको भन्दै सांस्कृतिक जर्गेना गर्ने जस्तो क्षेत्रमा सहयोग प्रयोग भएको प्रति उहाँले खुसी प्रकट गरे ।
सोही राहत वितरण कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मोहन गुरुङले राज्यबाट करौडौँ राहत वितरण गरिएतापनि सर्वसाधरणहरु एक छाक टार्न नसक्ने अवस्थामा रहेको बताए । कोरोना कहर सँगै प्राकृतिक प्रकोपमा राज्यका सम्बन्धित निकायबाट भन्दा बढी बाहिरी संघसंस्थाहरुबाट राहत वितरण जस्ता विषयमा बढी चासो देखाई रहेको उनको भनाई थियो ।
नेपाल मगर साँस्कृतिक संघ जिल्ला समन्वय समिति, कास्कीका अध्यक्ष सरिता सारु मगरको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सचिव सुरेश राना मगरले गरेका थिए ।
