
पोखरा । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको क्वारेन्टीनलाई सोही क्वारेन्टीनबाट विदाई भएका तीनजना युवाहरुले नगद सहयोग गरेका छन । पोखरा–२०, भलाम नाजिम घर भइ भारतबाट आएका खिम बहादुर घर्ती, दुबईबाट आएका पोखरा–२०, भलामका सन्तोष नेपाली र पोखरा–२० मोहोरियाका गोपी गुरुङले -यालेचौर बेसीमा रहेको क्वारेन्टीनमा बसेर विदाई हुँदै गर्दा आर्थिक सहयोग गरेका हुन् । क्वारेन्टीनमा बसेको ९ दिन पछाडि पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई क्वारेन्टीन होमले बिदाइ गर्दै गर्दा उनीहरुले क्वारेन्टीनमा घरको भन्दा पनि राम्रो सेवा सुविधा प्रदान गरेको भन्दै नगद सहयोग गरेका हुन् ।
क्वारेन्टिनमा सहयोग पुगोस् भनेर गोपी गुरुङले रु. ५ हजार ५ सय ५५, सन्तोष नेपालीले ५ हजार र खिम बहादुर घर्तीले नगद ३ हजार २ सय सहयोग गरेका हुन् । सहयोग रकम प्रदान गर्दै गोपी गुरुङ र खिम बहादुर घर्तीले आफुहरुजस्तै व्यक्तिहरुको धेरै थोरै सहयोगबाट क्वारेन्टीन होम निर्माण र व्यवस्थापन गरिएको हुँदा आफुहरु उक्त कार्यबाट प्रभावित भइ स्वस्फुर्त रुपमा क्वारेन्टीनलाई सहयोग गरेको बताए । ९ दिन सम्म क्वारेन्टीनमा बस्दा प्राप्त सेवा सुविधा तथा इन्टरनेटले गर्दा आफुहरुले कहिलेपनि एक्लोपनको महसुस नभएको बताउँदै सबै मिलेर कोरोनाको सामना गर्नुपर्ने समेत उनीहरुले बताए ।
सो अवसरमा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष तथा -यालेचौर बेसी क्वारेन्टीन होम मुल व्यवस्थापन समितिका संयोजक सिम गुरुङले क्वारेन्टीनबाट घर फर्किदै गर्दा क्वारेन्टीनलाई स्वस्फुर्त रुपमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै क्वारेन्टीनबाट घर फर्केपनि थप ७ दिन सुरक्षित रुपमा होम क्वारेन्टीनमा बस्न आग्रह गरे । क्वारेन्टीन निर्माण र व्यवस्थापनका लागि विभिन्न व्यक्तिहरुको साथ र सहयोग रहेको र हालै निर्माण सम्पन्न क्वारेन्टीन भवनमा ८ वटा कोठामा एकै पटक २४ जना रहन सक्ने क्षमता रहेको समेत अध्यक्ष गुरुङले बताए । क्वारेन्टीनमा हाइजेनिक खाना, विदेशबाट ल्याएका सामानहरु राख्ने छुट्टै स्टोर रुम, छुट्टा छुट्टै शौचालय, क्वारेन्टीनमा बस्नेहरुको लागि तातो तथा चिसो स्वस्थ पिउने पानिको व्यवस्था, वाथरुमको व्यवस्था र इन्टरनेटको समेत सुविधा रहेको छ । त्यसैगरी क्वारेन्टीन व्यवस्थापनका लागी दुई जना सुरक्षाकर्मी, एकजना स्वास्थ्यकर्मी र एकजना क्वारेन्टीन सहयोगी समेत रहेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर २० ले विदेशबाट घर आउनेहरुलाई लक्षित गरी भलाम -यालेचौरमा रहेको महेन्द्र मा.वि. को पुरानो भवनमा क्वारेन्टिन निर्माण गरेको हो । दीर्घकालिन सोचका साथ लामो समयदेखि बन्द रहेको महेन्द्र मा.वि. को पुरानो भवनमा निर्माण गरिएको क्वारेन्टीनमा कोरोनाको कहर अन्त्य पछी बहुउद्देशीय ढंगले भवनलाई प्रयोगमा ल्याउन सकिने अध्यक्ष गुरुङले जानकारी दिए ।
