
पोखरा। गण्डकी प्रदेशमा बुधबार बिहान २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा प्रदेशका ३ जिल्लाका २२ पुरुष र १ महिला गरी थप २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाकारी दिएको हो ।
संक्रमण पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिका–११ स्थित साई अर्चना अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी तथा मादी गाउँपालिका–७ का दुबई बाट आएका एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै लमजुङ बेसीसहरका ग्लोबल आइएमई बैंकमा कार्यरत ३२ वर्षीय एक कर्मचारी, १७ जना नेपाल आर्मीमा कार्यरत २७ देखि ४० उमेर समूहका पुरुषहरु तथा २५ र ५१ वर्षीय दुई पुरुष र नवलपुर गैडाकोट–१ की ४० वर्षीया महिलामा पनि कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ३६ पुगेको छ । जसमध्य निको हुनेको संख्या १ हजार ६ सय ४३ पुगेको पनि निर्देशनालयले जनाएको छ ।

