
पोखरा । राष्ट्रिय विज्ञान दिवशका अवसरमा पोखरा महानगरपालिका कार्यालयले विभिन्न फरक चार वटा संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । पोखरा स्थित विभिन्न प्राविधिक शिक्षालयहरुसँग महानगरपालिकाले समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।
महानगर स्थित प्राविधिक क्याम्पसहरुको सिप, ज्ञान र जनशक्तिलाई स्थानिय निकायको विकासमा जोडेर लैजाने उद्धेश्यका साथ महानगरले पश्चिमाञ्चल क्याम्पस, वन क्याम्पस, नर्सिङ क्याम्पस तथा जेन्टा क्लव पोखरासँग साझेदारी पत्रमा हस्ताक्षर गरेको हो ।
पोखरा महानगरपालिका कार्यालयको सभाहलमा सम्पन्न ‘राष्ट्रिय विज्ञान दिवश तथा समझदारी पत्र हस्ताक्षर कार्यक्रम’मा पोखरा महानगरपालिकाको तर्फबाट महानगरका प्रमुख मान बहादुर जिसीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् भने इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका प्रमुख राम प्रसाद पौडेल, बन क्याम्पस पोखराका प्रमुख विनोद हयेजु, नर्सिङ क्याम्पस प्रमुख निता ताम्राकार र जेन्टा क्लव पोखराका उपाध्यक्ष निरुता थापाले क्याम्पससँग सम्वन्धित प्राविधिक ज्ञान, सिप र जनशक्तिको सहकार्य गर्ने गरि समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
महानगर स्थित प्राविधिक शिक्षालयहरुको सिप, ज्ञान र जनशक्तिलाई महानगरको विकासमा प्रयोग गर्ने अभिप्रायले समझदारीपत्रमा हस्ताक्षर भएको महानगरका प्रमुख मान बहादुर जिसीले बताए । महानगरमा सञ्चालित प्राविधिक शिक्षालयहरुले नगरवासीको विकाससँग सम्बन्धित क्रियाकलापमा आफुलाई जोड्दै लैजानुपर्ने उनको धारणा थियो । हाललाई चारवटा शिक्षालयसँग सम्झौता पत्रमा हस्ताक्षर भएको र आगामी दिनमा बाँकी अन्य क्याम्पसहरुसँग पनि सम्झौता गरेर अगाडी बढ्ने महानगरले लक्ष्य लिएको उनले बताए ।
कार्यक्रमका अवसरमा बोदै महानगरका उप–प्रमुख मञ्जुदेवी गुरुङले जुन लक्ष्य प्राप्तिका लागि महानगरले शिक्षालयहरुँंग समझदारीपत्रमा हस्ताक्षर गरेको छ त्यो पुरा गर्न महानगर प्रतिवद्ध रहेको बताइन् ।
पश्चिमाञ्चल क्याम्पसका प्रमुख रामप्रसाद पौडेलले शैक्षिक संस्था र राज्यका कार्यकारी निकायहरुका विच सहकार्य अनिवार्य रहेको र महानगरले सो को तदारुकता देखाएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा वन क्याम्पसका प्रमुख विनोद हयेजु, निरुता थापा, मोनिका थापा लगायतले बोलेका थिए ।
कार्यक्रमका अवसरमा राष्ट्रिय विज्ञान दिवशको औचित्य र जनजीविकामा यसको महत्व बारे अन्तरक्रिया समेत गरिएको थियो ।
शहरी योजना आयोगका उपाध्यक्ष रामचन्द्र लामिछानेको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन शहरी योजना आयोगकै सदस्य बाबुराम भण्डारीले गरेका थिए ।



