
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नक्सा अनुसारको क्षेत्रफल समेटिएको पुस्तक हालका लागि वितरण नगर्न निर्देशन दिएका छन् ।
पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक सन्दर्भ पुस्तक वितरण तथा थप पुस्तक छपाई नगर्न प्रधानमन्त्रीले शिक्षा मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
पाठ्यक्रम विकास केन्द्रका अनुसार हालसम्म उक्त पुस्तक ५ सयप्रति छापिएको छ ।
पुस्तकमा नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर उल्लेख छ । नाबी, कुटी, गुञ्जी लगायत लिम्पियाधुरा क्षेत्र समेट्नु अघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किमि थियो ।
भारतले अतिक्रमण गरेका नेपाली भूभाग समेटेर सरकारले जेठ ७ गते नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो। नयाँ नक्साअनुसार संविधानमा संशोधन समेत भइसकेको छ।

