
स्याङ्जा । स्याङ्जाको वालिङमा पहिरोले घर पुरिँदा एकै घरपरिवारका ५ जनाको मृत्यु भएको छ । सोही परिवारका अन्य ४ जना बेपत्ता रहेका छन् भने एक जनाको सकुशल उद्धार गरिएको छ ।
बिहीबार बिहान ६ बजे जिल्लाको वालिङ नगरपालिका १४ तमादीस्थित माया नेपालीको घर पहिरोले पुरिएको हो । पहिरो पन्छाउँदा पाँच जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ ।
पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ का २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र नौ वर्षीय विवश नेपाली रहेका छन्।
अन्य बेपत्ता चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरी गरिएको छ। उनको प्राथमिक अस्पताल वालिङ प्राथमिक उपचारपछि पोखरा लगिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयले बिहानैदेखि उद्धारमा जुटेका छन्।
स्याङ्जाकै कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ बिर्घामा पनि पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमडाँडाका १६ वर्षीय विष्णु दमाई रहेको प्रहरीले जनाएको छ ।
