
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुलमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । शनिबार बिहान करिब ४ः३५ बजे कास्की जिल्लाबाट पर्वत जिल्लातर्फ जाँदै गरेको ग १०प २१२२ नं.को स्कुटर कास्की र पर्वत जिल्ला जोड्ने पुलको बारमा ठोक्किँदा र्दुघटना भएको हो ।
दुर्घटनामा परी स्कुटरको पछाडी सवार स्याङ्जा जिल्ला आधिखोला गाउँपालिका– ६ निवासी २६ वर्षीय पुस्कर बस्नेतको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते बस्नेतको पोखराको सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा शनिबार बिहान करिब ६ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते स्कुटर चालक स्याङ्जा आधिखोला–६ कै २५ वर्षीय सन्तोष न्यौपानेको पोखरा सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
