
माघ ५, काठमाडौं / दलहरुबीचको कुनै सहमति हुन नसकेपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शीर्ष बैठक छोडेर आन्दोलन नरोकिने घोषणा गर्न बानेश्वरको इन्द्रेणी फुडल्याण्ड पुगेका छन्। उनले भोलीको बन्द नरोकिने र सहमतिको संविधान ल्याउन आन्दोलन सशक्त रुपमा अघि बढ्ने बताएका छन्।
प्रचण्डले मोहन वैद्य र पद्मरत्न तुलाधरलाई सँगै राखेर भने, ‘सहमति भएको छैन, बन्द रोकिदैन।’ उनले सहमतिमा संविधान निर्माणमा दबाब दिन भोलीको बन्द पूर्वनिर्धारित कार्यक्रम भएकोले नरोकिने बताए। बन्दलगायतका आन्दोलनलाई प्रभावकारी पार्न उनले अपिल गरेका छन् । उनले कांग्रेस एमालेले जबरजस्ती प्रक्रिया अघि बढाए संविधानसभाभित्रै मुठमेड हुने र मुलुकमा ठूलो राजनीतिक दुर्घटना हुने चेतावनी दिए ।
उनले संविधान ल्याउने बाटो सहमतिबाहेक अर्को हुननसक्ने बताए । उनले संविधान निर्माणमा बाहिरका शक्तिलाई समेटेर अघि बढ्नुपर्ने बताए ।
