
काठमाडौं, माघ ५ । नाइजेरियाको इस्लामिक समूह बोको हरामका लडाकूहरुले छिमेकीमुलुक क्यामरुनको गाउँमा आक्रमण गरी दर्जनौँ मानिसहरुलाई अपहरण गरेका छन् ।
त्यहाँका अधिकारीहरुका अनुसार बोको हरामका लडाकूले सीमा पारगरी छिमेकीमुलुकको गाउँमा पसेर दर्जनौँ मानिसहरुलाई अपहरण गरेका हुन् । अपहरणमा परेका अधिकांश महिला तथा बालबालिका रहेको बताइएको छ ।
नाइजेरियाको सीमानजिक रहेको क्यामरुनको मादा र माकी गाउँमा बोको हरामले आक्रमण गरी अपहरण गरेको त्यहाँको सुरक्षा स्रोतले बताएको छ । आक्रमणकारीको प्रतिकारमा उत्रेका ४ जना गाउँले मारिएको सुरक्षा स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
बोको हरामका चरमपन्थीहरुले क्यामरुनका गाउँलेहरुमाथि आक्रमण गरी अपहरण गरेको यो पहिलो घटना हो । यसअघि क्यामरुनमा हुने गरेको उच्च ओहोदाका व्यक्ति तथा विदेशीहरुको अपहरणमा मात्रै बोको हरामको हात रहेको आरोप लगाइँदै आइएको थियो ।
बोको हरामले उत्तरपूर्वी नाइजेरियाका विभिन्न सहर तथा गाउँमाथि कब्जा जमाएको छ भने छिमेकीमुलुकहरुलाई पनि चेतावनी दिन थालेको छ । नाइजेरियासँग सीमाना जोडिएको अर्को मुलुक चाडले ‘जिहादी’विरुद्धको लडाइँ लड्न हालै क्यामरुनमा सैन्य बल पठाएको थियो ।
