
एजेन्सी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि मुम्बई इण्डियन्सले जितेको छ ।
युएईको दुबईमा मंगलबार राति भएको फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको हो ।
दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । मुम्बईको जितमा कप्तान रोहित शर्माले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । इसन किसनले ३३ र ओपनर क्विन्टन डी ककले २० रन जोडे ।
मुम्बईले ४५ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। रोहितले दोस्रो विकेटका लागि सुर्य कुमार यादबसँग ४५ र तेस्रो विकेटका लागि किसनसँग ४७ रनको साझेदारी गरेका थिए।
यससँगै मुम्बईले पाँचौ पटक आईपीएलको उपाधि जितेको छ । मुम्बई पाँच पटक आईपीएल जित्ने पहिलो टिम हो ।
मुम्बईले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा आईपीएलको उपाधि जितेको थियो ।
मुम्बईले लगातार दोस्रो वर्ष आईपीएलको उपाधि जितेको हो । गत वर्ष समेत मुम्बईले उपाधि जितेको थियो ।
मुम्बईपछि सर्वाधिक उपाधि जित्ने टोलीका रुपमा चेन्नई सुपर किङ्स रहेको छ। उसले तीनपटक उपाधि जितेको छ। चेन्नईले सन् २०१० र २०११ मा लगातार उपाधि जितेको थियो।
