
पोखरा । देशभरको मौसम बिहीबार (आज) आंशिकदेखि सामान्य बदली हुनेछ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेकाले मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ ।
यस्तै दिउँसो पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानका साथै प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
