
पोखरा । सरकारले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित अभियान अन्तर्गत कास्कीको मादी गाउँपालिकामा सोमबार १५ श्ययाको अस्पताल भवनको शिलान्यास गरिएको छ ।
गाउँपालिका वडा नं. ७ को तल्लो छाचोक(खन्टारी)मा १० रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने अस्पतालको प्रतिनिधिसभाका सांसद एवम् पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले शिलान्यास गरे ।
कोरोना भाइरसको महामारीपछि सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर देशभरका अस्पतालमा स्वास्थ्य उपकरण तथा क्षमता वृद्धिका साथै नयाँ संरचना निर्माण शुरु गरेको जानकारी दिए ।
संसारभरको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसारका स्वास्थ्य सेवा गाउँ गाउँमा उपलव्ध गराउन सरकार प्रतिवद्ध रहेको बताउँदै उनले भने,“ अब कोही पनि नागरिक उपचार सुविधा नपाएर मर्न पर्दैन । केही समयमै आफ्नै घर गाउँमा विशेषज्ञता हासिल गरेका चिकित्सकहरुले नागरिकको सेवा गर्नेछन् ।”
सरकारी सुविधा तथा छात्रवृत्तिमा एमविविएस तथा एमडी गरेका चिकित्सकहरुले कम्तिमा पनि दुई वर्ष सरकारले खटाएको क्षेत्रमा रहेर सेवा गर्नुपर्ने व्यवस्था गरेको हुँदा विशेषज्ञ चिकित्सकको अभाव नहुले उनले स्पष्ट पारे ।
प्रत्येक अस्पतालमा तीन जना चिकित्सक सहित २७ जना स्वास्थ्यकर्मीले सेवा प्रदान गर्ने व्यवस्था सरकारले मिलाएको बताउँदै उनले अस्पताललाई सरकारले आवश्यक श्रोत साधनको समेत व्यवस्था गर्ने विश्वास व्यक्त गरे ।
गाउँपालिका रहेको थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट हाल प्रवाह भइरहेको सेवाबाट उत्तरी भेगका जनतालाई पायक नपर्ने र सामान्य बिरामी पर्दा समेत पोखरा जानुपर्ने बाध्यता अस्पताल बनेपछि हट्ने विश्वास लिइएको छ ।
गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङले सङ्घ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा अस्पताल निर्माणपछि गुणस्तरीय सेवा प्रवाहका लागि आफू लागि पर्ने प्रतिवद्धता व्यक्त गर्दै विकासमा पछि परेको मादीमा विजयपुर र ज्याउदुमा पक्की मोटरेवल पुल निर्माणपछि सहज भएको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले विगतमा चार/पाँच वर्षमा एउटा पुलको योजना गाउँपालिकामा पर्दा समेत गौरव गर्नुपर्ने क्षण रहेको स्मरण गर्दै मादी गाउँपालिकामा मंसिर महिनामा तीन वटा मोटरेवल पुलको शिलान्यास तथा एउटा मोटरेवल र झोलुङ्गे पुलको उद्घाटन गरिएको उल्लेख गरे ।
नेपाल सरकारको देशका ३९६ स्थानीय तहमा अस्पताल बनाउने योजना अनुसार जिल्लाको उत्तर पूर्वमा अवस्थित भौगोलिक रुपमा विकट मादीमा अस्पताल बनाउने प्रक्रिया अघि बढाइएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)ले बताए ।
उनका अनुसार अस्पताल बनेसँगै मादीको उत्तरी भेगका वडा नं १,२,३,४,५,६ र ७ नं वडाका नागरिक प्रत्यक्ष लाभान्वित हुने विश्वास लिइएको छ । अस्पतालको विस्तृत आयोजना प्रतिवेदन(डिपिआर), डिजाइन तथा बोलपत्र आह्वान लगायतका काम छिट्टै अघि बढाईने तयारी भईरहेको छ ।
अस्पताल निर्माणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट रु तीन करोड २३ लाख बजेटको अख्तियारी गाउँपालिकालाई आइसकेको बताइन्छ । बहुवर्षीय योजना अन्तर्गत निर्माण हुने सो अस्पपतालका लागि रु १८ करोड ३२ लाख बजेट तय गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए।
कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा सङ्घ संस्थाका प्रतिनिधिले अस्पताल बनाउने काममा गाउँपालिकालाई आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा अस्पतालका लागि जमिन उपलव्ध गराउने जग्गादाता तथा ज्याउदु पुल निर्माणका जग्गादाताहरुलाई दोसल्लाबाट सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिए ।
त्यसैगरि सोही कार्यक्रम अन्तर्गत सोमबार नै कास्कीको रुपा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा पनि १५/१५ श्ययाको आधारभूति अस्पतालको शिलान्यास गरिएको छ भने माछापुच्छ्रे तथा पोखरा महानगरपालिकामा निकट भविष्यमै अस्पतालको निर्माण प्रकृयालाई अघि बढाइने जनाइएको छ ।
सरकारले ३९६ स्थानीय तहमा पाँच देखि १५ श्ययाको गणुस्तरीय आधारभूत अस्पताल र मुलुकका सात वटा प्रदेशमा १/१ संक्रामक रोग उपचार अस्पताल निर्माण गरि सञ्चालन गर्ने अभियान शुरु गरेको हो ।
