
पोखरा । पोखरा–५, प्रस्र्याङ, धारापानी मार्ग स्थित धारापानी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले धारापानी मन्टेश्वरी स्थापना गरेको छ।
सहकारीले शिक्षा क्षेत्रमा लगानी गर्ने उद्देश्य अनुरुप मन्टेश्वरी स्थापना गरेको सहकारीकी अध्यक्ष राधिका आचार्यले जानकारी दिइन् । करिव २ रोपनी जग्गा भाँडामा लिई ९ कोठे भवन निर्माण गरिएको छ ।जसमार्फत पूर्ण बालमैत्री वातावरणमा पूर्वप्राथमिक तहको शिक्षा दिने सहकारीको योजना छ।
आफ्नो क्षेत्रमा मन्टेश्वरीको अभाव महसुस गरी संस्था स्थापना गरिएको मन्टेश्वरी व्यवस्थापन समितिकी अध्यक्ष कल्पना बास्तोलाले बताइन् । नाफामूलक भन्दा पनि सेवामूलक भावनाका साथ मन्टेश्वरी स्थापना गरेका छौं, सुपथ मूल्यमा गुणस्तरीय शिक्षा पनि दिन्छौं उनले भनिन् । त्यसका साथै आफ्नो टोल बाहेक बाहिरबाट पनि बालबालिका ल्याउन सफल हुने उनको विश्वास छ।
मन्टेश्वरी स्थापनाका लागि सहकारीले हालसम्म रु. ३५ लाख बढी लगानी गरेको छ। त्यहाँ हाल ११ जना बालबालिका अध्ययन गर्दछन्।
कोरोना भाइरसको यो समयमा आफूहरुले स्वास्थ्यको पूर्ण मापदण्ड पालना गरी मन्टेश्वरी संचालन गरिरहेको सचिव गीतादेवी पौडेलले बताइन् । मन्टेश्वरी संचालनका लागि पोखरा महानगरपालिका, वडा, अन्य टोल एवम् मार्गवासी, स्थानीय महानुभाव लगायतको पूर्ण साथ सहयोग प्राप्त हुने सहकारीको विश्वास छ। मन्टेश्वरीमा केही पूर्वाधार भने निर्माणकै चरणमा रहेका छन्।
