
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन आह्वान गरेका छन् ।
सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुलाई स्वागत गर्दै पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने स्पष्ट पारे ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज झण्डै ३ घण्टा बसेको बैठकमा कोभिड–१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधि तथा पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता रहेको थियो ।
